रूपान्तरण कि सोचान्तरण ? • Image Khabar Image Khabar


रूपान्तरण कि सोचान्तरण ?


Imagekhabar
११ भाद्र २०७३, शनिबार १४:०५

रूपान्तरण कि सोचान्तरण ?

पेशल आचार्य –

युवा पुस्ताको सपनाको नेपाल र युवा पुस्ताले भोगेको विपनाको नेपालमा आकास–जमिन अन्तर छ । देश युवा पुस्ताले भनेजस्तो छैन । युवा पुस्ताले भोगेजस्तो पनि छैन । अहिलेको युवापुस्ता केट्रिना कैफको ‘सेक्सी’ अनुहारमा ‘ताक धिना धिन’ नाच्न चाहन्छ । अहिलेको युवापुस्ता मोजार्डको सङ्गीतमा उत्तुङ्ग भिज्न चाहन्छ । अहिलेको युवापुस्ता रक एण्ड रोलमा ‘विन्दास’ पारामा नाच्न चाहन्छ । ब्याले डान्स र साल्सामा समेत भुलिन चाहन्छ । यो युवा पुस्तालाई साकिराको अन्तर्राष्ट्रिय गीत ‘वाकावाका’ मा झुम्न मन पर्छ । नेपाली फास्ट पप गीतमा कम्मर मर्काईमर्काई स्टेप्स लिन चाहन्छ ।

सोच फास्ट छ –यो पुस्ताको । विचारमा ¥याडिकल चेन्ज छ –यो पुस्ताको । पुरानो पुस्तामा यसलाई भर र भरोसा छैन । पुरानो पुस्ता पनि यो पुस्तालाई विश्वास गर्दैन । समस्याको मूल चूरो यहीँ हो । चुस्त र दुरूस्त युवा पुस्ताले ‘ग्लोबलाइजेसन’ र ‘लोकलाइजेसन’ दुवैलाई रिमिक्स गरी ‘ग्लोकलाइजेसन’ भन्ने नयाँ थ्योरी बनाएको छ । त्यसैमा ऊ आफ्नो, आफ्ना परिवारको र देशको मुहार

नेपालकै कुरा र कन्था झिक्दा यो युवा पुस्तालाई आइस क्रिम खाँदै राजधानीस्थित क्यूएफ्एक्स् सुविधाको जय नेपाल सिनेमा हलमा विनीता बरालको ‘चपली हाइट’ र दीपेन्द्र के खनालको ‘लुट’ मा मस्ती गर्न मन लाग्छ । खगेन्द्र लामिछानेको स्याडो प्रेमको कथा ‘पशुपतिप्रसाद’ लाई अघोरै मन पराउँछ । बरू पारस खडकाको क्रिकेटमा गम्न चाहन्छ । देशको बेथिति विरुद्ध चालिएका ‘अकुपाई बालुवाटार’ र ‘आई एम् विथ डा.केसी’ भनी माइतीघर मण्डलामा प्ले कार्ड बोकेर रम्न चाहन्छ ।

खासमा नयाँ पुस्ताले योभन्दा अझै अगाडिको सिष्टम सहितको परिवर्तन खोजेको हो । चेन्जलाई स्वीकार्न सामयिक समाजका विसङ्गतिहरूलाई च्यालेन्ज गर्न खोजेको हो । नेतालाई भन्दा नेटलाई विश्वास गर्ने यो हट पुस्ता हो –नेपालको । जो छयालीस निगल्दा वर्षहरूका बीचमा जन्मेको छ । जसरी अहिलेको परिवर्तनको शङ्खघोष छयालीस सालकै पेरिफेरीमा भयो । त्यहाँदेखि जोडेर ल्याउँदा अहिले यो पुस्ता गदा पच्चीसी नाघिसकेको छ । परिपक्व आवरणमा अब आफ्ना लागि केही र देशका लागि केही गर्न खोज्दै छ । देशलाई यसले भलिभाँती चिनेको छ तर देशले यसका अतुल विशेषताहरू चिनेको छैन । चिन्नेवाला पनि छैन । हिजो पञ्चायतले पनि युवालाई चिनेन । केहीलाई मण्डले बनाई राष्ट्रभक्ति र व्यवस्था भक्तिमा लगायो । युवक संगठन हुँदै पनिजावुसमा लगेर थन्क्याई दियो ।

आजको नयाँ भनिएको खुला र बहुदलीय परिवेशले पनि कतै विद्यार्थी संगठनमा लगाएर भाम ऊर्जा  खत्तम गरिसकेको छ भने कतै कुण्डले, मुन्द्रे र डन बन्न प्रेरित गर्दैछ । देशलाई पढालेखा युवा चाहिएको छ तर पार्टी र नेतालाई अवैचारिक बाहुबली युवाको तलास छ । खासमा भन्ने हो भने आजको यो सत्तासँग देशका युवालाई चिन्ने र उनीहरूका सकल ऊर्जालाई देशभित्रै खपत गर्ने कुनै कार्ययोजना पनि छैन । अतः प्रतिदिन १८ सयको हाराहारीमा युवाहरू देशबाटै पलायन भैरहेका छन् । खाडी, मलेसिया र कोरिया जानेहरू त केही सीप बोकेर केही वर्षमै फर्कलान् तर ती जो अमेरिका, युके, क्यानाडा र अष्ट्रेलिया गएका छन् तिनीहरू भने कहिल्यै नफर्कन पनि सक्छन् । देश क्रमशः रित्तो बन्दै गएको छ । देशमा युवा परिलक्षित कार्यक्रमहरू शून्यतामा र खण्डहर हुँदै गएका छन् ।

अहिलेको युवा पुस्तालाई सिण्डीकेटवादी शैली र मिलिभगतमा रमाएको देशको झन्झावात राजनीतिको ‘वाल मतलब’ छैन । ऊ बरू ‘मुन्नि बद्नाम हुई डारलिङ् तेरेलिए’ गीतमा सानन्द लिन मन पराउँछ तर संविधान संशोधन र मधेश केन्द्रित पार्टीहरूले ल्याएका बखेडामा रत्तिभर दिलचस्पी दिँदैन । किन ? यसमा कुनै राजनीतिक पार्टीले शोध र सन्धान नै गरेका छैनन् ।

नेपालमा सम्भावना छन् । गर्न दिइँदैन । विदेश पलायन भएकाले गरिरहेका छन् प्रचार छैन ।

अहिलेको युवा पुस्तालाई आउट डेटेट दर्शन र बयेलिएका विचारहरूको कुनै सरोकार छैन । विश्व ग्राममा छान मार्ने भैसकेको यो पुस्ता अन्तर्राष्ट्रिय सेयर मार्केट्समा सेयरको भाउ गिर्दा निधार खुम्च्याउँछ भने एप्पल र सामसुङ्को बेपार नीतिको हरघडी चियो चर्चा गरिरहेको हुन्छ ।

गएको बीसवर्ष याने दुईदसक यता जन्मिएको युवा पुस्ताले नेपालमा धेरै र सार्थक परिवर्तन पनि भोगेको छ । नेपालीहरूमा पन्पिएका आनीबानी र सुक्रीविक्रीहरू पनि टटोलेको छ । नेपाली बजार र राजनीतिमा धेरै परिवर्तन आए । राजनीतिको बजारमा धेरै ब्राण्डेड दर्शन बिक्न छाडे । बजारको राजनीतिक दर्शन दन्त्यकथाको ‘स्यालको रङ्’ उडेझैँ फुङ्ग भएको छ । मसिहा कहलिएका राजनीतिज्ञहरूका कद र काँठी लिलिपुट यात्रामा ओरालो लागिरहेका छन् । फुटपाथमा घुमिरहेका कार्यकर्ताहरू महलका मालिक र विभिन्न आदेशका मठाधीश भए ।

गोलचक्कर काटिरहेका छन् –विचार र व्यवहारहरू । गएको वर्ष भारतको विरोध गरेर एकथरी राजनीतिज्ञले आफूलाई सफेदपोश वश्त्रमा लपेटेर राष्ट्रवादीको कित्ताकाट गरे । यो वर्ष अचम्म लाग्दो गरी राजनीतिको नदनदीमा पानी पृथक् पाराले बग्दो छ । हिजो पनि रनभुल्लमा थिए –जनताहरू । आज पनि रनभुल्लमा छन् –जनाद्र्धनहरू ।

विकासको राजनीतिको कुरा गर्ने विवेकशील युवाहरूले खोलेको पार्टी भने धुम्बाराहीतिर किरायाको कोठामा सिमित छ । महावीर पुन र डा.गोविन्द केसीहरू  मण्डलामा आफ्ना मागहरू सुनाउन चिच्याइरहेका बेला लोकतन्त्रका मसिहा हौं भन्नेहरू टङ्गालतिरका कुनै आलिसान महलमा वाचाल शैलीमा षडयन्त्रका पुरिया खोल्दा हूनन् ।

 यति सुन्दर देशलाई चलाउन दिमाग र दूरगामी सोच भएका नेताहरू हामीले पाएको भए ? के छैन नेपालमा –जल, जङ्गल, जडीबुटी र जमिन ? पर्यटन यो देशको कायापलट गर्ने सामथ्र्य राख्ने अर्को अतूल सम्भावनाको क्षेत्र । सगरमाथा, लुम्बिनी, सौराहा, पोखरा, इलाम, पाल्पा, धरान र जनकपुरक क्षेत्रका मेघा गुरुयोजना तयार गरी ‘हाइटेक’ शैलीमा पर्यटन क्षेत्रमा लगानी गर्ने हो भने  वर्षमा करोडौं करोड बाह्य पर्यटकहरू नेपाल भित्र्याउन सक्ने थियौं ।

डा. सन्दुक रुइतको टेक्नोलजीमा निर्मित आँखाका नानीहरू, महावीर पुनको सूत्रमा आबद्ध बेतारको वाइफाइ, उत्तम सञ्जेलका कार्यशैलीका जनताले थेग्न सक्ने स्कुलहरू, नुवाकोटे रामश्यामका प्रविधिमा आधारित वैज्ञानिक आविष्कारहरू यी र यस्ता थुप्रैथुप्रै सन्दर्भहरूको फेहरिस्त बताउन सकिन्छ । नेपालमा सोचको मात्र खाँचो हो स्रोतको होइन । देशका हीरालाई विज्ञापन  नगरिएको हो । जिराको शेरगुल खिलाएका छौं ।

सगरमाथाको पानी विश्व बजारमा बेच्ने हो भने वार्षिक करोडौं डलर वैदेशिक मुद्रा झार्न सकिने स्थिति छ । बुद्ध भूमिको माटो मात्रै संसारका बुद्ध धर्मावलम्बीहरूलाई बेच्ने हो भने अर्को बाटो र पाटोबाट करोडौं डलर झार्न सकिन्छ । गर्ने नै हो भने स्वास्थ्य, शिक्षा र सञ्चारका क्षेत्रमा धेरै पाटाहरू छन् । मात्रै खाँचो सोचको छ ।

अब रूपान्तरणसँगै सोचान्तरणको खाँचो छ –नेपाललाई र नेपालका युवा पुस्तालाई । जो देशभित्र देश खोज्दै छन् । त्यस्तो देश जहाँ सबै प्रविधि र प्रकृतिका युवाहरूको ऊर्जाको नमन होस् । रोजगारीमा, अध्ययनमा, व्यावसायमा र राजनीतिमा ।

मैथिलीमा एउटा मुहावरा छ –थोडा पढा हल से बाहर, ज्यादा पढा घर से बाहर । यसको मर्म नयाँ भनिएको नेपालमा राजनीति गर्ने सबैले बुझ्नु आवश्यक भैसक्यो । युवाले घरकै लागि घर छाडेको हो । घर बिर्सेको होइन । बिर्सिदैँन ।   

प्रतिक्रिया दिनुहोस्