काठमाडौं, चैत ३० । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले कम्युनिस्ट सरकारले कम्युनिस्ट विचारधारा बोकेको दललाई नै प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् ।
शनिबार राजधानीमा कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जलिसभामा उनले कम्युनिस्ट आन्दोलन मुलुकको आवश्यकता रहेको भन्दै विचारका आधारमा कसैलाई प्रतिबन्ध लगाउनु राजनीतिक चरित्र नभएको टिप्पणी गरे ।
महासचिव वैद्यले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई भने कम्युनिस्ट आन्दोलनको भावनाअनुरुप नभएको जिकिर गरे ।
उनले कम्युनिस्ट पार्टीबीच एकताको आवश्यकता रहे पनि मूल्य र मान्यताको धरातललाई बिर्सन नहुने बताए ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले स्व. श्रेष्ठलाई कम्युनिस्ट विचारधाराको प्रखर ज्ञान भएका नेताकारुपमा स्मरण गरे ।
सभामा उपस्थितहरुले श्रेष्ठलाई एक कुशल नेताकारुपमा सम्झिए ।
श्रेष्ठको ८७ वर्षको उमेरमा गएको फागुन ११ गते निधन भएको थियो ।









प्रतिक्रिया दिनुहोस्