२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


मोदीलाई बुझाएको पत्रबारे निधिले दिए संसदमा जानकारी


0
Shares

काठमाडौं, भदौ १२ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र मोदीलाई बुझाएको बारेमा संसदमा जानकारी गराएका छन् ।

सरकारको साउन २७ गतेको निर्णय अनुसार आफूले भारतको भ्रमण गर्दा राष्ट्रपतिको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न र २७ वर्षदेखि नेपाल भ्रमण नभएको अवस्थालाई फेरि सुचालु गर्न पत्र दिएको बताए ।

आइतबार संसद बैठकमा गृहमन्त्री निधिले आफूले भारतीय विदेश मन्त्री, गृहमन्त्रीलगायत नेपालको राजनीतिक परिवर्तनमा सहयोग गरेका नेताहरुसँग भेट गर्दै सरकार सबैको सहमतिमा अगाडि बढ्न तयार रहेको जानकारी गराएको बताए

नेपालको संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन गरिनेसम्बन्धि विषय पनि जानकारी गराएको निधिले बताए ।

नेपालमा भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न लेखेको पत्रदेखि भारतीय प्रधानमन्त्रीलाई विशेष दूतको रुपमा पठाएको पत्र हस्तान्तरण गरेको उनको भनाइ थियो ।

पत्रमा नयाँ सरकार गठनपछि दुई देशबीचको सम्बन्ध अझ विकास र सुधार गर्न भारतीय सरकारको पूर्ण समर्थन पाउने कुरा लेखिएको उनले बताए ।

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई नेपालको विकासमा भारतीय सहयोग तथा नेपाल भारतबीच भविष्यमा हुने उच्चतहको भ्रमण र दुई देशको सम्बन्ध विकासका बारेमा पत्र लेख्नु भएको उनको भनाइ छ ।

यसअघि एमाले सांसद भीम रावलले प्रधानमन्त्रीका विशेष दूत एवं उपप्रधानमन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको पत्र सदनमा पेश गर्न माग गरेका थिए ।

वैठकमा विशेष समय लिएर बोल्दै उनले पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध कायम राख्ने मान्यतालाई तोड्दै संविधान संशोधनको विषयमा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पत्राचार गर्नु हाम्रो संविधान र जनभावना विपरित छ भने ।

नेपालको सार्वभौमसत्ता, सामाजिक अखण्डतामाथि कुनै पनि आँच आउन नहुने भन्दै रावलले पत्र सार्वजनिक गर्न माग गरेका हुन् ।