मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा • Image Khabar Image Khabar


मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा


Imagekhabar
१३ भाद्र २०७३, सोमबार १६:१२

मध्य मोदी जलविद्युत् आयोजनाका कारण बस्ती जोखिममा

पर्वत, भदौ १३ । पर्वतमा निर्माणाधीन मध्य मोदी जलविद्युत् आयोजनाका कारण मोदीखोलाको किनारमा अवस्थित पर्यटकीय स्थल विरेठाँटीबजार जोखिममा परेको छ ।

आयोजनाको व्यवस्थापन पक्षले अव्यवस्थित ढङ्गले खोलामा बाँध लगाउँदा पर्यटकीय बजार विरेठाँटीको बस्ती नै जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । समयमै बस्तीक्षेत्रको खोलामा बाँध नहाल्दा पर्वतको सिमानामा रहेको कास्कीको दाङसिङ गाविसमा पर्ने पुलपारी विरेठाँटीमा रहेका १५ घरसहितको बस्ती नै जलविद्युत्का कारणले गर्दा पहिरोको उच्च जोखिममा परेको स्थानीयले गुनासो गरेका हुन् ।

विरेठाँटीको लुम्ले गाविसतर्फ पुल वारी क्षेत्रमा बाँध हाल्दा मोदीखोलाले ठूलो वर्षात् हुँदा वारीको पानीको बहावले गर्दा पारीको क्षेत्रमा असर पु¥याउँदा बस्तीलाई नै जोखिममा पारेर पहिरो जान थालेको स्थानीय खगेन्द्र गौचनले बताए ।

मध्य मोदी जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष मनोज गुरुङले उक्त जलविद्युतको व्यवस्थापन पक्षसँग विरेठाँटी क्षेत्रको मोदीखोला वारीपारी दुवै किनारामा बाँध बाध्न माग गर्दा पनि खासै माग सुनुवाइ नभएको बताए ।

तत्काल बाँध बाँध्न नसक्दा हाल मानव बस्ती जोखिममा पर्न गएको गुरुङले बताए । आफ्नो क्षेत्रमा स्थापना हुन लागेको उक्त हाइड्रोपावर व्यवस्थापन पक्षले आफूखुसी काम गर्दा विरेठाँटीको बस्तीलाई मोदीखोलाको कटान गर्नाले उच्च जोखिममा पारेको उनले बताए ।

उक्त आयोजनाका प्रमुख हरि देवकोटाले खोला वारी पहिला बाँध नभएकाले सो क्षेत्रमा बाँध लगाएको बताउँदै खोला पारी पहिला बाँध भएकाले बाँध नलगाएको बताए । बस्ती जोखिममा परेको कुरा आफूलाई थाहा नभएको बताउँदै यस विषयमा भने हिउँदमा मात्र सोच्न सकिने उनले उल्लेख गरे ।

सो आयोजना करिब रु दुई अर्ब ८० करोडको लागतमा निर्माण कार्य सुरु भएको करिब दुई वर्षमा पाँच प्रतिशतमात्र काम पूरा भएको प्रमुख देवकोटाले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्