
काठमाडौं, भदौ १४ । सरकारले भारतका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो दम्पतीको कीर्तिमान राखेको दाबी गर्ने जोडीलाई हिमाल आरोहणमा १० वर्षे प्रतिबन्ध लगाएको छ ।
दिनेश र ताराकेश्वरी राठौर दम्पतीले गत मे २३ मा सगरमाथाको शिखरमा पुगेको दाबी गर्दै सार्वजनिक गरेको तस्वीर झुठो भएको छानबिन समितिको ठहर छ ।
अधिकारीहरुले राठौर दम्पतीविरुद्ध लगाइएको प्रतिबन्धले अरु आरोहीहरुलाई गलत काम गर्नबाट रोक्ने विश्वास लिएको बताएका छन् ।
राठौर दम्पतीसँगै गएका केही पर्वतारोहीले भने उनीहरुले चुचुरोमा पुगेको तस्वीर ‘फोटोसप’का माध्यमबाट बनाएको आरोप लगाएका थिए । तर, दुबै प्रहरी अधिकृत रहेका राठौर दम्पती र उनीहरुका ‘गाइड’ले भने आरोप अस्वीकार गरेका थिए ।
राठौर दम्पतीलाई सगरमाथा लैजाने व्यवस्था मिलाएको मकालु एडभेन्चरले भने उनीहरु सगरमाथाको शिखरमा पुगेको सम्बन्धमा कुनै आशंका नभएको जनाएको थियो । उनीहरु पुणेमा कार्यरत् थिए ।
विवाद बढ्दै गएपछि नेपाल सरकारको पर्यटन विभागले उनीहरुलाई प्रदान गरेको सगरमाथा आरोहणको प्रमाणपत्रको वास्तविकताका विषयमा पनि छानबिन गरिने जनाएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्