
काठमाडौं, असार २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिकेन्द्रित गरेर शक्तिशाली हुने आफ्नो इच्छा नरहेको दाबी गरेका छन् ।
राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको सोमबार जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले जनताका विकासका आकांक्षा पूरा गर्न भने सरकार शक्तिशाली हुनुपर्ने बताए ।
मुलुकलाई समृद्धिको दिशातिर लैजान भ्रष्टाचार निर्मुल गर्नु पहिलो शर्त भएको भन्दै उनले भ्रष्टाचारीहरुलाई कारबाही गरिछाड्ने दृढता दोहोर्याए ।
भ्रष्टाचार निर्मुल पार्नकै लागि राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उनको तर्क थियो ।
पाँच महिनाअघि बनेको सरकारले सडकमा दशकौंदेखि बनेका सबै खाल्डाखुल्डी पुर्न नभ्याउने उनको भनाइ थियो ।
राष्ट्रियसभामा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमा छुट्याएको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले पनि सोमबारै जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्