सबै बुबाको चर्चामा छन्, म भने... • Image Khabar Image Khabar


सबै बुबाको चर्चामा छन्, म भने…


Imagekhabar
१६ भाद्र २०७३, बिहीबार १८:१२

सबै बुबाको चर्चामा छन्, म भने...

रीश्मा थापा –

बुबाको मुहारमा मन्द मुस्कान ! सेतो सर्ट, कालो पाइन्ट त्यस माथी कालो स्टकोट सदाझैं यो दिन पनि बुबा त्यहीं कपडामा हुनुहुन्थ्यो । ठ्याक्कै कति बजेको थियो, ठम्याउन सकिन । सिमसिमे  पानी परिहेको थियो ।  पानीले भिजाइरहेको अनुभूति गरीरहेकी थिए । आगँनको डिलमा बुबाले खै के हो खनि खोतरी गर्दै हुनु हुन्थ्यो । बुबाको मुख हेर्ने दिन, मैले बुबालाई नै मन पर्ने खानेकुरा बनाएकी थिए ।त्यसमा निउरोको तरकारी र खसीको मासु विशेष थियो । मेरो चुस्तीफुर्ति नै बेग्ले थियो ।

आमाले पनि भित्र चाजोँपाजोँ मिलाउदैँ हुनुहुन्थ्यो । म भने घरीघरी बुबाको छेउमा जान्थे । बुबाले सुम्सुम्याउँदै दाह्री लगाइदिनु हुन्थ्यो । तोते बोलीमा बुबालाई नानाथरी भनेर फकाउँदै पाँच रुपैयाँ फुत्काउँदै आउँदै गर्थे । हामी  बीचमा दोहोरो सम्वाद थिएन तर पैसा फुत्काउने प्रक्रिया भने दुई चार पटक नै चल्यो । यत्तिकैमा आमाले भान्साबाट नानी भन्दै बोलाएको आवाज सुनें । सायद केही काम अह्राउन होला भनेर म भान्सामा गएँ तर भान्साबाट फर्किदा बुबाालार्ई आगँनको डिलमा देखिन । यता उता खोजेँ , बोलाएँ तर बुबालाई देख्दै देखिन । बुबाको बोली सुन्दै सुनिन । एक्लो महसुस गरे । आगँनको डिलमै चिच्याइ चिच्याइ रोइरहे … रोइरहे …

मोबाइलमा अर्लाम बज्यो… झसङ्ग ब्युझिँएछु । सिरानी आँशुले भिजेको अनि शरिर चाँही पसिनाले ।
न म त्यो बेला आगँनमा थिए न यता उता बुबा नै …’ओ माई गड’ सपना पो रहेछ ….. !!!

छटपटी भए जस्तोे भयो । जुरुक्क उठेर आँगनमा पुगे । सिरसिर बतास चलिरहेको थियो । अकस्मात मेरा आँखा आकाशको जुन र तारामा  पुगे । जुन र ताराका बिचमा त्यत्ति धेरै दुरी त थिएन तर पनि एक अर्कालाई भेट्न सकिरहेका थिएनन् । बादलले ढाक्दै गरेको जुन त्यसको नजिकै रहेको मधुरो तारा । मात्रै हेरीरहेका थिए ।

धेरै बेर तिनै जुन तारा हेरेर टोलाइरहे । खोइ किन मैले त्यो तारामा आफूलाई र जुनमा बुबाको प्रतिबिम्ब देखे । दुवै एक अर्कालाइ भेट्न आतुर छन तर सकिरहेका छैनन् । छोरीले आफ्नो सफलता बुबालाई सुनाउन पाइरहेकी छैन अनि बाबाले सफलतामा स्याबास र बधाई दिन सकिरहेका छैनन् । असफलताको समयमा छोरी मुस्कान सहितको सहानुभूती चाहान्छे तर बाबुले सुम्सुम्याउदै सहि मार्ग दर्शन दिन सकिरहेका छैनन् । सुख , दुख , हाँसो र रोदन सँगै बसेर बाड्न सकिरहेका छैनन् ।

टाढैबाट जुनले तारालाई शितलता दिन खोजीरहेको छ तर ताराले त्यो शितलतामा मात्र मन बुझाउन सकिरहेको छैन, सामिप्यताको अभाव महसुस गरीरहेको छ । केवल मलिन मुद्रामा टाढैबाट हेरीरहेका छन मात्र हेरीरहेका छन् एक अर्कालाई । बुबार म जस्तै ।यत्तिकैमा मोबाइलमा बजेको फोनको घण्टीले ध्यान मोडिदियो ।

मन नलागि नलागि कार्यालयका लागि तयार भएँ । कार्यालय जाँदै गर्दा आकाश तिर हेरेँ । ती जुन र तारालाई देखिन । सायद फेरी भेट्ने आशामा कतै गएका होलान् ।
विगतमा फर्किएछु । मेरो चुलबुले बानी, चुलबुल भन्दा धेरै बोल्ने बानी, जिद्धी, भनेको हुनै पर्ने , नभए रिसाइ दिए पुग्ने , कहिले तल्लो घर कहीले माथिल्लो घर । कोटको गोजीबाट सुटुक्क पैसा चोर्दा पनि नदेखे झैँ गरीदिने, पसलबाट कपि चोरेर त्यसका हरेक पन्नाको गुरासँ किन्दा पनि नरिसाइदिने ,किशोरावस्थामा पुग्न लागेकी छोरीले घोडा बनाएर हट हट घोडा भन्दै हिडाउँदा पनि नझर्किने हजुरको बानी । बुबा यी सबै कुरा सम्झिदा घर घरी म निशब्द हुँन्छ अनि भक्कानिन्छु ।

थाहा छ, बुबा जब घरमा पुग्छु रातो रङ्ग विनाको पहिरनमा आमालाइ देख्छु । झन धेरै हजुरलाई मिस गर्छु । मेरो भन्दा पनि आमाको अनुहारमा हजुरको अभाव खड्किएको देख्छु ।एक दिन आँट गरेर आमालाइ मुखै फोरेर भने , आमा रातो पहिरन लगाउनुस न , चुरा र  पोते लगाउनुस न , हजुरको मुहारको चमक हरायो, घर अध्याँरो भयो । यस्तो पुरानो परम्परामा किन अड्कीनु भएको ? जमना कहाँबाट कहाँ पुगीसक्यो….मैले त्यति भन्दै गर्दा आमाका आँखा रसाइसकेका थिए । ओठ कपाउदै आमाले भन्नु भयो , के सम्झेकी काली तैले ? समाजको डरले गर्दा मैले रातो पहिरन ‘नलगाएकी हुँ ?’
मत अवाक् भए ..

नजिकैको सन्दुक ( काठको बाकस) देखाउँदै आमाले भन्नु भयो , यी तिम्रा बुबाले तिजको छेको पारेर ल्याइदिएका राता सारी, चुरा र पोते । म यी लगाएर फटाल्न चाहान्न ।
मैले हतारमै भने अरे आमा यी फाटे अरु नयाँ आइहाल्छन । आखिर राखेर के गर्नु हुन्छ ?

उहाँले थप्दै जानु भयो , बजारमा महङ्गा र धेरै राम्रा सारी होलान् तर ती सारी र फुलबुट्टे चोलीमा तिम्रो बाबाको माया र स्पर्ष छैनन् । ती त केवल कपडा मात्र हुनेछन् । केवल कपडा त म अहिले पनि दिनहुँ पहिरीरहेकी छु । त्यसैले त मेरो मुहारमा चमक छैन होला ।  तर म उहाँका स्पर्शले भरिएका मेरा रंगिन चोली र सारीलाई सम्हालेर राख्न चाहान्छु । म बाचुञ्जेलसम्म …

आमाका यी कुरा सुन्दा हजुरहरुको प्रेम र आमाको समर्पणलाई मनै मनले सलाम गरिरहेकी थिए । थाहा छ बुबा , हजुरहरु दुबैको भूमिका निभाउन आमाले कुनै कसरत बाँकी राख्नु भएकै छैन तर पनि हजुरको अभाव खड्किन्छ ।

हजुरको झुसे दाह्री यी कोमल गालामा दलेर रुवाएको , आमाले गाली गर्दा हजुरसँग कुरा लगाइदिएको, पसिनाको बासना आउने हजुरको कोट सिरानी बनाएको, बजारबाट आउँदा सुकावाला चक्लेट ल्याइदिएको सम्झिएर घरी घरी भावविवह्ल हुन्छु ।बुबा हजुरको प्राण मेरो काखमै गएको थियो । त्यो बेला राम्ररी बुझेकी थिए की मान्छेले जन्मसँगै मृत्यु पनि लिएर आएको हुन्छ । तर यो सब जान्दा जान्दै पनि मन सम्हाल्न सक्दिन ।

लाग्छ ,अझ बालखैमा अभिभावक गुमाएका ती सानासाना नानीबाबुलाई झन् मायाको अभाव कत्ति खड्कीदो हो । जसले आमा बाबुको मायाको अनुभूति  नै गर्न पाएनन् ।
यत्तिकैमा नजिकै आएको मोटरसाइकले टिटिट गर्दै हर्न बजायो । झस्कीए अहो.. कार्यालय नजिकै पो आइपुगिछु ।

सोचेँ ती दिदीबहिनी दाजुभाई आज कत्ति खुशी छन् होला जो यतिबेला बुबाको साथमा छन् । आधुनिक प्रविधिको प्रयोग गर्दै फोन, स्काइप लगायतका विभिन्न माध्यम्बाट बुबाको आशीर्वाद लिईरहेका छन् । बुबा म पनि त अभागि कहाँ हो र ? मेरो अहो भाग्य होकि म हजुरकी छोरी भएर जन्मे, हजुरहरु कै लाड प्यारमा हुर्किएँ । जति समय हजुरको छत्रछायाँमा रहे ती सबै मेरो स्मृतीमा छन् ।
बुबा हजुर नभए तापनि हजुरको आशीर्वाद त मसँग छ ।  

प्रतिक्रिया दिनुहोस्