
काठमाडौं, भदौ १७ । आन्तरिक उडानको वायुसेवा कमपनी सीता एयर बिक्री भएको छ ।
विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्णस्वामित्व खरिद गरेको छ ।
यो वायुसेवा खरिदबिक्री सम्बन्धमा दुई महिना अगाडि नै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ ।
राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए । निजी लगानीको सीता एयर ५५ करोड रुपैयाँमा खरिद गरिएको राठीले बताए । एयरमा आफूले लगानी गरेको भए पनि साइलेन्ट पार्टनरका रुपमा बस्न चाहेको र हवाई क्षेत्रकै एकजना यो वायुसेवामा हुने भएकाले कुनै हल्ला नगरिएको उनको भनाइ छ ।
यो एयर फिजो नेपाली, सुनिल बिष्ट र विनोद बस्नेतलगायतको समूहले बिक्री गरेको हो ।
आन्तरिक उडानको यो वायुसेवा कम्पनीसँग दुई वटा मल्टिइन्जिनका जहाज छन् । सन् २००३ बाट संचालनमा आएको यो वायुसेवासँग डोर्नियर २२८ नामका १८ सीट क्षमताका जहाज संचालनमा छन् । सीतासँग यसअघि चारवटा जहाज भए पनि दुई वटा दुर्घटनामा परेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्