Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


रातो झण्डा ओढेपछि भ्रष्टाचारमा छुट : पौडेल, उपनिर्वाचनमा जुट्न देउवाको निर्देशन


0
Shares

प्रदिप पौडेल

पोखरा, चैत २९ । कांग्रेस सभापति शेरबहादुर देउवाले कास्की क्षेत्र नम्वर २ को उपनिर्वाचनमा केन्द्रित हुन कार्यकतालाई निर्देशन दिएका छन् ।

नेपाल महिला संघ कास्कीले शुक्रबार नयाँ वर्ष २०७६ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुट, उपगुट र अन्तर्घात अन्त्य गरी उपनिर्वाचनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र रिक्त छ ।

सभापति देउवाले उपनिर्वाचन कांग्रेसलाई जिताएमा एकताको सन्देश देशव्यापी जाने हुँदा पार्टी एकताको सन्देश कास्कीबाट शुरु गर्न आग्रह गरे । उनले विभिन्न गुट, उपगुट र घात प्रतिघातका कारण पराजय भोग्नु परेकाले पार्टी यो अवस्थामा आएको बताए ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको १० महिनाभित्र १४ औं महाधिवेशन नभए कांग्रेसलाई गम्भीर धक्का लाग्ने चेतावनी दिए ।

कम्युनिष्टको उद्देश्य नै कम्युनिज्म ल्याउने भएको बताउँदै उनले भने, ‘देशमा कम्युनिज्म ल्याउन रोक्ने हो भने तोकिएको मितिमा कांग्रेसले महाधिवेशन सक्नुपर्छ, हैन भने कांग्रेसलाई गम्भीर धक्का लाग्छ, अपुरणीय क्षति पुग्छ, यो कांग्रेसका लागि दुर्भाग्य हुनेछ ।’

पौडेलले वर्तमान सरकारले कम्युनिष्टको रातो झण्डा ओढेजति सबैलाई भ्रष्टाचारमा छुट दिएको आरोप लगाए । नेकपा महासचिव विष्णु पौडेल भूमाफियाबाट ठगिएको भनेर सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले भन्नु पनि त्यसैको एउटा रुप भएको उनको टिप्पणी थियो । ‘रातो झण्डा ओढेपछि भ्रष्टाचारमा छुट छ,’ उनले भने, ‘आफ्नो पार्टी र आफ्नो मान्छेले गरेका अगतिला काम पनि ढाकछोप गर्छ, लुकाउँछ ।’