
रविन भट्टराई (इमेज)
ताप्लेजुङ, भदौ १८ । शुक्रबार राति भारी वर्षासँग आएको पहिरोमा परी ताप्लेजुङमा एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ ।
पहिरोले घर पुर्दा ताप्लेजुङ नगरपालिका–२ का टीका मगरकी श्रीमती २८ वर्षीया विमला, छोराहरु ९ वर्षीय मनोज र ६ वर्षीय ललितको मृत्यु भएको हो ।
पहिरोमा परी बेपत्ता भएकी ताप्लेजुङ नगरपालिका–८ कि दिलकुमारी पालुङ्वा पनि मृत भेटिएसँगै मृतकको संख्या चार पुगेको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले शनिबार पहिरो पन्छाएर उनीहरुको शव निकालेका हुन् ।
दिलकुमारी पालुङ्वाकी बहिनी कृष्णकुमारी पालुङ्वा भने घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।
पहिरोले ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडामा गरी करिब ५० घरमा क्षति पुगेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
नगरपालिका–८ मामात्र ३२ घर पहिरोले बगाएको र १ सय ५५ जना विस्थापित भएको पाण्डेले जानकारी दिए । सबै विस्थापितहरुलाई नगरपालिका–८ हिटीस्थित होराइजन बोर्डिङ स्कुलमा राखिएको छ ।
उनीहरुलाई स्थानीयले चाउचाउ र चिउरा वितरण गरेका छन् । दर्जनौं स्थानमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्