जसबाट लोकतन्त्रमा सधैँ खतरा छ ! • Image Khabar Image Khabar


जसबाट लोकतन्त्रमा सधैँ खतरा छ !


Imagekhabar
१९ भाद्र २०७३, आईतवार १३:४६

जसबाट लोकतन्त्रमा सधैँ खतरा छ !

हरिविनोद अधिकारी-

हजार मुसा मारेर खाएपछि बिरालो हज गर्न गएछ । यो उखान हिन्दीबाट आएको जस्तो छ । हजार चुहा खानेके बाद बिल्ली हज करनेको गई । अर्थात पाप पखाल्ने कुरालाई यसो भनिएको होला । या बिरालोमा रहेकोे अन्तर्निहित मुसा खाने हिँसात्मक विशेष गुण हज गर्न गए पनि या धर्मको ढोङ गरेर पनि जाँदैन भन्ने होला । जे होला, जस्तो अर्थ होला तर  अहिले हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा त्यो लागू भएको छ ।

पहिलो संविधान सभामा अचानका परम्परागत संसदीय पार्टीहरुभन्दा धेरै मत र स्थान ल्याएर अल्पमतको भए पनि सबैभन्दा ठूलो दलको रुपमा तत्कालीन नेकपा माओबादी देखियो । त्यसपछि सरकार गठन हुन पनि केही समय लागेको थियो । त्यो बेलामा तत्कालीन प्रधानमन्त्री तथा कार्यबाहक राष्ट्राध्यक्ष गिरिजाप्रसाद कोइरालाले संविधानमा रहेको केही असंसदीय प्रावधानलाई सुधार गरेरमात्र संविधान सभाको पहिलो बैठक बस्न सकेको थियो । सायद आज जे भन्दैहुनुहुन्छ प्रधानमन्त्री हिजो कोइरालालाई त्यसको भनक आएको थियो । केही शर्त हुन्छन् खुुला समाजमा प्रजातन्त्र सञ्चालन गर्नका लागि । ती शर्तहरुमा प्रचण्ड बाँधिन नचाहेको कुरा अन्तरिम संविधानका अन्तरवस्तुले पनि देखाएका थिए। त्यसबेला कोइरालाले खासै चासो देखाउनु भएन । हतियारविहीन गराएरमात्र निर्वाचन गराउने कुरामा पनि कोइरालाले खासै चासो देखाउनु भएन किनभने कोइरालालाई थाहा थियो ती कुराहरुको शर्त राखेमा निर्वाचन कहिल्यै हुने छैन र मुलुक स्थायीरुपम गृहयुद्धमा जाकिने छ ।

त्यसबेलामा किन सरकार बन्न ढिलो भयो भनेर हाम्रा छिमेकीहरुले समेत चासो व्यक्त गरेका थिए र खासगरी एमालेभित्रको एउटा पक्षचाहिँ तत्काल सरकार हस्तान्तरण गर्नका लागि कोइरालालाई दबाब दिँदै थियो । त्यसैको परिणाम नै तत्कालीन सेनापतिलाई हटाएर एउटा नयाँ सँक्रमणको सुरुवात गर्ने प्रपञ्च रचिएको थियो जसमा एमालेको एउटा पक्ष सकारात्मक थियो । सरकार बन्दा काँग्रेसलाई जानाजान बाहिर राखियो किनभने काँग्रेसले रक्षा मन्त्रालयचाहिँ माओबादीले नलेओस् भन्ने जिरह गर्दै थियो किनभने काँग्रेसलाई एउटा डर थियो कहीँ रक्षा मन्त्रालयको अभिभारा लिएको माओबादीले सेजामा हात हाल्यो र परम्परागत सेना र जनसेनाका बिचमा कुनै नयाँ लडाइँ सुरु भयो भने त्यसले ल्याउने रक्तपातले देशमा नयाँ सङ्कट खडा गर्नेछ । तत्कालीन राष्ट्रपतिले ठूलै जोखिम उठाएर भए पनि त्यो रक्तपात हुन दिनुभएन र आज प्रचण्ड फेरि प्रधानमन्त्री हुन पाएका छन्।

हिजोको त्यो दमित संशयलाई सही ठह¥याउने गरी प्रचण्डबाट खुलासा गर्न थालेको पाइयो । प्रधानमन्त्री हुँदा त्यस्तो कुरा पहिले खोलेको पाइएको थिएन । र अहिले पनि कसैले सत्ता कब्जा गर्न चाहेको भनेको पनि छैन तर प्रचण्डले २०६५सालमा  आफू सत्ता कब्जा गर्ने नियतले सत्तामा गएको बताउन थालेका छन् र भन्न पनि थालेका छन् कि अहिले ममा त्यस्तो कुनै भ्रम र लालच छैन ।समय धेरै अगाडि बढेको छ भन्ने महसुस भएको रहेछ । वास्तवमा तत्कालीन प्रधान सेनापतिले जुन तरिकाले अहिले पनि माओवादीलाई अथ्र्याउँछन्, त्यसको शतप्रतिशत सही ठहरिन थालेको पाइन्छ हिजोको त्यो भावना अहिले पुष्टि गरेर ।

हजार मुसा खाएर बिरालो हज गर्न गएकै होला त ? या त्यसो भनेर आजको अवस्थामा पनि आफूमा त्यो षडयन्त्रपूर्ण लालच रहेको र तत्काललाई विश्वास दिलाउन पनि ममा त्यस्तो कुनै लालसा वा महत्वाकाँक्षा नरहेको भनी देखाउन चाहेका छन् ।

केही दिन अघिमात्र नेपाली काँग्रेसका सँस्थापकसरहका नेता रामहरि जोशीले एउटा कुरामा आफ्नो पार्टीलाई सतर्क रहन भन्नु भयो कि कहीँ काँग्रेस कोमिन्ताङ नबनोस् । वास्तवमा प्रचण्डको मात्र कुरा होइन कि एमालेजस्तो संसदीय व्यवस्थाको एउटा प्रतिस्पर्धी खेलाडीमा समेत नेपाली काँग्रेसलाई मिन्सेभिक वा कोमिन्ताङ बनाउने ध्येय बाँकी नै रहेछ । केपी शर्मा ओलीको सरकारका केही तरिका सत्ता कब्जाकै सेरोफेरोमा केन्द्रित थिए। क्सरी भने २०७४ माघ ७ अघि कुने सरकार परिवर्तन गर्ने धारा नै छैन र त्यसपछिको सरकार विरुद्ध २ वर्षसम्म कुनै अविश्वासको प्रस्ताव राख्नै पाइँदैन । यसरी वैधानिक रुपमा, काँग्रेस आफैँले बनाएको मानिने संविधानभित्र रहेर काँग्रेसलाई पाखा लगाउने नियत जो देखिएको थियो ।
पाठकहरुलाई के सम्झाउँ भने कोमिन्ताङको संघर्षका परिणामले चीनमा राजतन्त्र समाप्त भएर गणतन्त्रात्मक प्रजातन्त्र स्थापना भएको थियो । कम्युनिस्ट पार्टीले डाक्टर सनयातसेन र च्याङकाइसेकलाई के विश्वास दिलाएको थियो भने उनीहरु प्रजातन्त्रकै पक्षमा उभिने छन् र खुला समाजको पक्षधर भएर नै चीनमा प्रतिस्पधौ गर्नेछन् ।तर प्रजातान्त्रिक प्रणालीभित्र प्रजातन्त्रलाई र कोमिन्ताङलाई समाप्त पार्ने संगठन गरेर मात्र चीनमा १९४९को अक्टोबर १ तारिख आएको थियो जुन दिन त्यो पार्टीसहित सबै पार्टी नै प्रतिवन्धित भए । आज पनि चीनमा बहुदलीय व्यवस्था छैन ।

कोमिन्ताङ दलका नेता च्याङकाईसेक भागेर ताइवान पुगे र आजसम्म चीनका लागि त्यो देश भिन्न सिद्धान्तको भिन्न प्रणालीको देशको रुपमा एउटै चीनमा पनि अर्कै  अङ्ग जीवित छ । बहुमतको मिन्सेभिकलाई लेनिनले छलले समाप्त पारेर ७० वर्षसम्म कम्युनिस्टको एकाधिकार रह्यो । चीनमा अहिले पनि कम्युनिस्ट पार्टीको एकाधिकार छँदैछ ।
कुनै पनि एकाधिकार जमाउने दलले पहिले नै आफ्नू दल एकाधिकारवादी हुने भन्दैनन् । विरालोले सन्यास ग्रहण गरेको नाटक गरेर मुसाहरुलाई एक्लाएक्लै दीक्षा दिने निहुँमा सबै मुसा सखाप पारेको लोककथा जस्तै पो हुन लागेका हो कि ? त्यस अनिष्टकारी भविष्यका लागि काँग्रेस नै वाहक बनेको हो कि भन्ने संशय पनि नेपाली समाजमा अहिले पनि नउठेको होइन । त्यसैले पनि काँग्रेस र माओबादी केन्द्रको अहिलेको गठबन्धनलाई प्राकृतिक गठबन्धन नमान्नेहरुको पनि बाहुल्यता छ । वास्तवमा काँग्रेस आम जनताको दल हो र जो कम्युनिस्ट होइनन् वा कुनै पनि दलका समाहित छैनन् , तिनको समष्टिस्वरुप नै काँग्रेस हो भन्ने जनमानसमा परेको छ २००७साल देखि नै । नत्र पञ्चायत सखाप पारेको ठानिएको काँग्रेस कसरी जीवित रहन्थ्यो र ? सबै कम्युनिस्टलाई गैर प्रजातन्त्रवादीहरुको संगठन बनाउन प्रोत्साहन दिने पञ्चायत र राजाको अन्तिम सँस्कारमा नत्र कसरी कम्युनिस्टलाई  सरिक गराउन सकिन्थ्यो र ?
अहिलेका संक्रमणकालीन अवस्थामा के कुरा स्पष्ट हुन लागेको छ भने नेपाल फेरि एकदलीय अवस्थामा फर्कने हो कि भन्ने डर भारतलाई परेको छ तर त्यसको उपचारचाहिँ भारतले ठीक तरिकाले गर्न सकेन ।

नाकाबन्दी त्यसको उपचार थिएन र हैन पनि । चीन यस्ता कुरामा त्यति धेरै स्पष्ट हुन चाहँदैन ।यदि नेपालका कम्युनिस्ट शासनको सूत्रपात हुने अपेक्षा छ भने पनि त्यो शब्दमा देखाउँदैन र जे भए पनि नेपालको आन्तरिक मामिला भनेर तटस्थ बस्न रुचाउँछ । भारतको अपेक्षा र प्रक्रिया जहिले पनि बाझ्छ र पहिलेका मित्रलाई आलोचक बनाउने अनि पहिलेको आलोचकलाई मित्रमा परिणत गर्ने बानी देखिन्छ । सायद अहिलेको गणतन्त्र र त्यसपछिको संघीयताको स्वरुपसहितको नेपाली संविधानप्रतिको धारणामा त्यति स्पष्ट नहुनु  र बारम्बार रक्षात्मक स्वरुपमा उभिनु पनि त्यसैको परिणाम हो भन्नैपर्छ ।

यदि प्रचण्डमा साँच्चै कम्युनिस्टको एकाधिकारको राज्यको लोभ हराएको हो र जनताको प्रजातन्त्रको रक्षा र प्रजातान्त्रिक अधिकारको पक्षमा आजीवन लाग्ने अठोट गर्ने साहस पलाएकै हो भने हाललाई नेपालको लोकतन्त्रको भविष्यमा ग्रहण लाग्ने छैन किनभने प्रजातन्त्रमा खतरा नै उग्रवामपन्थी र उग्र दक्षिणपन्थीबाट हो । साँच्चै भन्ने हो नेपालको प्रजातन्त्रलाई हालको सबैभन्दा खतरा नै माओबादी केन्द्रबाट नै थियो र छ । संविधान पनि हिजो माओबादीले बनाउन चाहेन, बनेन । पछि चाह्यो बन्यो । अहिले पनि संविधानको कार्यान्वयन पनि माओबादीले चाहेमा सहज तरिकाले हुन्छ , नत्र प्रजातन्त्रमा खतरा आउने छ। प्रचण्डमा आउने लोकतन्त्रप्रतिको आस्थाले नेपालको प्रजातन्त्रमा स्थायित्व आउने छ । काँग्रेसको त प्रतिबद्धता र परिणाम नै प्रजातन्त्र हो । एमाले पनि प्रजातन्त्रप्रतिको प्रतिबद्धताबाट भाग्न सक्दैन ।

मधेसवादी दलहरुको अरु जे सुकै होला तर नेपालको प्रजातन्त्रका विरुद्धमा कोही पनि  जान सक्ने अवस्था छैन । साँच्चै प्रचण्डको मन रुपान्तरण भएको हो भने र निर्वाचनबाहेका अन्य तरिकाले सत्ता कब्जा गर्ने नियतमा परिवर्तन आएकै हो भने यो नेपाली लोकतन्त्रको स्वास्थ्यमा राम्रो सङ्केत हो ।
 

प्रतिक्रिया दिनुहोस्