२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


भाषामाथि व्यभिचार !


0
Shares

पेशल आचार्य – नेपाली भाषा माथिको विवाद अहिले सतहमा आएको छ । यो भाषामा आफूलाई कथ्य र लेख्य माध्यममा क्रियाशील बनाएका करोडौं वक्ता र पाठकहरूको गुनासो, कथ्यलेख्य अवस्थामा कुनै पनि समस्या नभइकन भाषा जस्तो क्षेत्रलाई गिजोल्न उद्यत्त छन् । यो सारै चिन्ताको विषय हो । भाषिक क्षेत्रमा काम गरेका, भाषा शास्त्रीको पद ओगटेका र ठिनेमिने भातेखिर्रा मार्का स्वघोषित बुद्धिजीवीहरूले गरेको कोठे र नितान्त निजी स्वार्थप्रेरित निर्णयका कारण नेपाली भाषामा कृत्रिम समस्या निम्त्याइएको हो । यसले नेपाली भाषालाई प्रकारान्तरले नामेट गर्ने निश्चित देखिन्छ ।

सरकार यो विषयमा रमिते भएको छ । दिग्गज विद्वानहरू पनि चुपो लागेर पानी माथिका ओभाना भएका छन् । नेपाली भाषामाथि गरिएको प्रहार अहिले मात्र शुरू भएको होइन । यसका लागि ती जोजो युरोपियन युनियनका ‘युरो’ र पश्चिमाहरूका ‘डलर’ खाएर लागिरहेका छन् तिनैले निकै सोची सम्झीकन भाषिक गेम खेलेका हुन् ।

अतः यो नेपाली भाषामाथि खेलिएको ‘गेम प्लान’ हो । यसमा कुनकुन टाउके र लाउके विद्वान्हरूले कतिकति मापोमा पैसा खाएका छन् त्यसको पर्दाफास एकदिन सञ्चार माध्यममा हुँदै जानेछन् । अहिले मात्र धैर्य गरेर पर्खनु पर्छ । दुखको कुरो यतिखेर नेपाली भाषालाई महाभारतमा पाण्डवहरूले जुवा हारिसकेपछि द्रौपदीको चिरहरण भएझैँ चारैतर्फबाट बेइज्जत गरिएको अवस्था छ ।

भाषा आफैँमा विकासशील प्रक्रिया हो । नेपाली भाषाले पनि आदिकवि भानुभक्तका पालामा देखाएको स्वरूप अहिले छैन । भाषा आफैँले समय, वक्ता र परिस्थितिअनुसार परिवर्तनका प्रक्रियाहरू स्वीकार्दै जान्छ । जानु पनि पर्छ । नेपाली भाषामा पनि यो प्रक्रिया शदियौंदेखि देखिएको छ । भानुभक्तकालीन नेपाली भाषा लेखनाथका पालामा आइपुग्दा निकै परिमार्जित र परिष्कृत भएको भाषिक परिवर्तनशीलता कै उदाहरण हो । केही वर्षअघि माओवादीका दिनानाथका पालामा आइपुग्दा कसैले भाषाको पानी धमिल्याए । कसैले शब्दकोशको व्यापार गरेर घरका तला थपे भने कसैले व्याकरणका किताब लेखेर घडेरी समेत जोडे । भाषा र साहित्यका क्षेत्रमा कलम चलाउनेहरूले त्यो सबैसबै हिसाबकिताब गरेर राखेका छन् । अहिले परिवर्तित भनिएको भाषाको भद्रगोल भएको निर्णयमा सही गर्ने माओवादी केन्द्रका तात्कालीन मन्त्री दिनानाथ पनि पाममोचनका लागि टेलिभिजन र पत्रिकामा बोल्न थालेका छन् । उनले नबुझेर सही गरे वा बुझेर सही गरेर अहिले नाटक गरेका हुन् सो पनि समयान्तरमा प्रष्ट हुनेछ । 

यतिखेर पत्रपत्रिकाले काम पाएका छन् । समाचार, फिचर, सम्पादकीय र अन्तर्वार्ता समेतमा नेपाली भाषाको बबन्डरलाई प्राथमिकता साथ प्रस्तुत गरिरहेका छन् । पछिल्लो समय ‘कान्तिपुर’ को सरोकारमा भाषाविद् शरच्चन्द्र वस्ती, समालोचक हरि अधिकारी र भाषाशास्त्री प्राडा हेमाङ्गराज अधिकारीको बहस सुन्न लायकको थियो । भाषिक गेम प्लानमा फँसाइएका हेमाङ्गका तर्कमा दम थिएनन् ।  (हेर्नुहोस्:३० अगस्त, २०१६ को सरोकार, यु ट्ब, डट कम्)

खासगरी नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रमा काम गर्ने सरकारी बुद्धिजीवीलाई आफ्नो मुठ्ठीको माखा बनाएर नेपालमा रहेका केही युरोपियन युनियनका एजेन्टहरूले उच्च माध्यमिक शिक्षा परिषद्मा समेत चलखेल गरी करोडौं रूपैयाँको कारोबार मिलाई ‘सबैको नेपाली’ नामक कक्षा ११ को पुस्तकमा यो हर्कत गरेर नेपाली लेखाइ शैलीकै पूरै धज्जी उडाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम ‘लक्ष्मी प्रसाद देवकोटा’ लेख्नु, राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाम ‘माधव प्रसाद घिमिरे’ लेख्नु जस्ता दुईदुई अक्षर जोड्ने र दुईतीन अक्षर या तीनदुई अक्षर छुट्याउनु सोरै आना बचकानापन हो । यति मात्र होइन पदयोग वियोग, समास र व्यञ्जन वर्णलाई आधाबाट हटाई हलन्त दिने जुन परिपाटीको थालनी गरिएको छ त्यसले नेपाली भाषालाई केही दसकमै रसातलमा पु¥याउने निश्चित छ ।

नेपाली कविताका क्षेत्रमा बयालिस वर्ष काम गरेका वरिष्ठ कवि महेश प्रसाईं भन्नुहुन्छ –‘मैले जतिबेलादेखि नेपाली लेखेँ । मलाई कुनै अप्ठ्यारो महसुस भएन । अहिले आएर नेपाली भाषालाई यसरी बिगारिएको छ कि मलाई नयाँ शैलीमा लेखेकोे देख्दा पनि मैले सिकेको भाषा र मैले लेखेका पुस्तकहरूको हुर्मत लिएजस्तो लाग्छ । आमालाई बूढी भएपछि बेइज्जत गर्न खोजिएको जस्तै हो यो नेपाली भाषाको वर्णविन्यासको झगडा । वक्ता र लेखक आर्फैले समायान्तरमा भाषिक परिवर्तन स्वतः गर्दै जाने प्राकृतिक अवस्थाको यो पूर्णतः हननै हो ।’

नेपाली भाषालाई अहिले बजारकी ‘पणश्री’ बनाइएको अवस्था देखेर नेपाली भाषामा लेख्ने, पढ्ने र नेपाली भाषबाटै जीविकोपार्जन गरेर सामान्य दालरोटी निखनिरहेका शिक्षक, पत्रकार, सम्पादकजस्ता तमाम कलमजीवीहरूलाई मनमा निकै हुँडला भएका छन् ।

२५ वर्षदेखि नेपाली भाषा र व्याकरण सिकाएका गुरुका  भन्छन् –‘ऐकान्तिक क्षणपलमा सोचमग्न हुँदा लाग्छ, मैले जुन सहजतापूर्वक नेपाली भाषा सिकेँ । अतितका ती गुरु र गुरुआमाले जुन नियमबद्धताका साथ मलाई नेपाली भाषा सिकाए त्यो मेरो आज गौरव भएको छ । म मेरो नेपाली भाषाको पकडमा विश्वास गरेर मेरा आज्ञा मान्ने सकलदर्जाका विद्यार्थीलाई समेत सिकाइरहेको छु । पच्चीस वर्ष सिकाएपछि मेरो नेपाली भाषा निम्सरो भएको छ । म स्वयम् अधमरो भएको छु । भाषाका बारेमा अथेन्टिसिटी लिने निकायहरू कोठीका मालिक्नी झैँ भएका छन् । कसैको पनि सुनवाई छैन ।’

‘आज म मेरा भावनाहरू नेपालीमै प्रकाशन र प्रशारण गरिरहेको छु । मलाई भाव प्रशारणमा मेरो भाषाले केही बिगारेको जस्तो लाग्दैन । केही स्वनाम्धन्य कोठे बुद्धिजीवीहरूले सत्ता र शक्तिको आडमा नेपाली भाषारूपि आमामा बलात्कार गरेका छन् ।’ अर्का पुराना लेखक हियो डढेको भावमा उच्छवास् पोख्छन् ।

‘नागरिक’ दैनिकमा रुवी रौनियार ‘निजी शब्दकोश बिकाउन सरकारी बिगारियो’ शीर्षक समारचारमा लेख्छिन् –‘युरोपेली युनियनको अंग्रेजी भाषा बलियो बनाउने चलखेलमा नेपालका पदाधिकारीहरू फँसे’ मोतिराज बमले भनेको यो कोटबाटै भाषामाथि भैरहेको नेपाली गेम प्लान अझ प्रष्ट हुन्छ ।

‘आफ्नो निजी प्रकाशन विद्यार्थी पुस्तक भण्डारको प्रकाशन ‘प्रयोगात्मक नेपाली शब्दकोश’ बिकाउन नेपाल प्रज्ञा प्रतिष्ठानका भाषा विभाग प्रमुख प्राडा हेमाङ्गराज अधिकारीले सरकारी शब्दकोषमा चलखेल गरेको आरोप’ छ । (समाचारको पूर्ण पाठका लागि हेर्नुहोस् ः नागरिक दैनिक, २०७३ भदौ ८, वर्ष ८, अंक १२४, पृष्ठ ३)

त्यसैगरी, भदौ ८ गते नै नेपाली भाषाविद् शरच्चन्द्र वस्तीसँग ‘अनलाइन खबर डट्कम्’ ले लामो भाषिक अन्तर्वार्ता लिएको छ । जसमा सारभूत रूपमा भनिएको छ –‘नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । यो अक्षरात्मक छ । जसको कथ्य र लेख्य परम्परा दुवै फरकफरक छ । हिजोको मानक नेपाली कथ्य लेख्य दुवै अलगअलग शैलीमा लेखिन्थ्यो । अंग्रेजी भाषा रोमन लिपिमा लेखिन्छ । यो चाहिँ वर्णनात्मक छ । यही भएर अंग्रेजी भाषाका शब्दहरू शब्दैपिच्छे फरकफरक लेखिने गर्दछन् । भाषाका वक्ताले जबसम्म अप्ठ्यारो महसुस गर्दैनन् । जबसम्म अनुसन्धान र खोज गरेर नयाँ तथ्य बाहिर आउदैन तबसम्म मानक भाषा बिगार्न पाइँदैन ।’ (वार्ताको पूर्ण पाठका लागि हेर्नुहोस् :२०७३ भदौ ८ को ‘अनलाइन खबर डटकम्’ मा शरच्चन्द्र वस्तीसँगको अन्तर्वार्ता)
    यतिखेर नेपाली भाषाको विवाद सडकसम्मै आएको छ ।

नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले एमाओवादी केन्द्रका दिनानाथ शर्मा शिक्षामन्त्री हुँदा सरकारी निर्णय गराएर नयाँ वर्ण विन्यासको नियम लागू गरेको थियो जसनुसार अहिले नेपालमा कक्षा १ देखि ९ सम्म नयाँ पाठ्यक्रम अनुसार नयाँ वर्ण विन्यासको नियम चलेको र कक्षा १० को पाठ्यक्रम पुरानै भएकाले पुरानो वर्ण विन्यासको नियम चलेको देखिन्छ । आउने २०७४ सालको बैसाखबाट नयाँ पाठ्यक्रम लागू हुँदा कक्षा १ देखि १० सम्म सबै कक्षामा र ११-१२ मा नयाँ शैलीले नेपाली भाषामा सबै नियम लागू हुने छन् । त्रिवि चाहिँ यतिखेर बल्ल ब्युँझेको छ । उसले त्यो नयाँको भाउँतो अझै भिरिसकेको छैन तर त्यहाँ पनि नयाँका मतियारहरू रहेका छन् ।
    

यतिखेर न नयाँ न पुरानोको भद्रगोलको स्थितिले नेपाली भाषाको यो अवस्थालाई अखटो अवस्था बनाएको छ । नयाँ नेपालका नाममा माओवादीहरू स्थापित भाषा, संस्कृति र संस्कारमा प्रहार गर्दैथिए । सोही अवस्थामा नेपालमा सबै क्षेत्र तहसनहस पारिसकेपछि मात्र आफ्नो शासनको पकड दह्रो पार्न युरोपियन युनियन र केही पश्चिमाहरूको इसारामा प्रज्ञाका हेमाङ्गराज अधिकारीहरू पनि यो भाषिक गेम प्लानका मतियार भएका छन् ।’ चौँतीस वर्ष नेपाली अध्यापनमा बिताएका नेपाली भाषाका एक प्राध्यापकले आफ्नो नाम नछाप्ने सर्तमा बताए ।

नेपालमा नगिजोलिएको क्षेत्र नै रहेन । छैन । हुँदाहुँदा अब भाषामा नियोजित आक्रमण भएको छ । यो आक्रमणको बचाऊ त हुँनु नै पर्छ तर यस्ता खालका विवाद निम्त्याउने कोठे विद्वान्हरूलाई सडकमा ल्याएर सबै जनताले चिन्ने गरी सार्वजनिक गर्नुपर्छ । केही मुठ्ठीभर नेपालीले सत्ता र शक्तिका आडमा नेपाली भाषालाई बिगार्दैजाने हो भने देवनागरी लिपिमा लेखिने यो भाषा लोप भएर नेपाली लेख्न पनि रोमन लिपिको शरण पर्नु पर्ने दिन चाँडै नआउला भन्न सकिन्नँ ।