१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


सबै राजनीतिक परिवर्तन सहमतिबाटै : दाहाल


0
Shares

चितवन, चैत २८ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् ।

भरतपुर महानगरपालिका–४, लंकूमा निर्मित जेम्स वर्ल्ड फनपार्कको बिहीबार उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताए ।

राष्ट्रिय सहमतिलेमात्रै ठूला–ठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भने–‘पञ्चायतविरोधी आन्दोलन भनौं या २०६२/६३ को आन्दोलन, शान्ति–प्रक्रिया, शान्ति–सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ।’

उनले थपे–‘संघीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो ।’

विकास र समृद्धि अहिलेको मुख्य एजेन्डा भएको भन्दै उनले आम नेपालीले खोजेको उत्पादन वृद्धि र रोजगारीको सृष्टि गर्ने, देशभित्रै आर्थिक विकास एउटा नयाँ युगतिर लैजाने कुरा नै सबै नेपालीको चाहना भएको बताए ।

उनले विदेश जाने नेपालीलाई शक्तिशाली सन्देश यस फनपार्कले प्रवाह गर्ने बताए ।

युवाले आँट्यो भने एउटा सामान्य रेस्टुरेन्टबाट राष्ट्रियस्तरमा लगानी प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण उद्योग बन्नसक्ने उदाहरण फनपार्कले दिएको उनले उल्लेख गरे ।

नारायणगढबाट भेटघाट रेस्टुरेन्टको नामबाट तास व्यापार सुरु गरी राष्ट्रिय महत्व राख्ने पर्यटक प्रवर्द्धन गर्नसक्ने पार्क निर्माण गरेकामा सन्चालक गोविन्द तिवारी, महेश तिवारीसहितको सन्चालक समूहप्रति उनले आभार व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अध्यक्ष दाहाललाई सम्बोधन गर्दै मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै विपक्षीहरुलाई पनि सँगसँगै समृद्धितर्फको यात्रामा लैजान आग्रह गरे ।

उनले भने–‘हामी सकारात्मक प्रतिपक्षको भूमिका खेल्न चाहन्छौं । हामीलाई साथ लिएर गए मुलुकमा समृद्धि आउँछ ।’

कोइरालाले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रबाट भेटघाट समूहको प्रवर्द्धनमा फनपार्क सन्चालनमा आएकामा यसले समग्र जिल्ला र देशको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, फनपार्कका सन्चालक डा. निभा तिवारी, महेश तिवारीलगायतले बोलेका थिए ।

सो अवसरमा दाहालले फनपार्कको उद्घाटन गरे भने कोइरालाले फनपार्कको दोस्रो परियोजना चितवन आई टावरको शिलान्यास गरेका थिए ।

रु २५ करोडभन्दा बढीको लागतमा भेटघाट समूहले १०० भन्दा बढी खेल समावेश गरी पार्क निर्माण गरेको हो । रासस