गृष्मा राजभण्डारी/देवेन्द्र महर्जन (इमेज)
काठमाडौं, भदौ २१ । प्रविधिको उच्चतम् विकासले पछिल्लो समय मानवजीवन छिटो र छरितो बन्दै गएको छ ।
प्रविधिको आविष्कार सपांगहरुका लागिमात्र नभइ अपांगता भएकाहरुका लागि पनि हुँदै गएको छ ।
विकसित मुलुकहरुमा यस्ता प्रविधिको प्रयोग गरेर जीवनलाई सरलीकृत गर्नु सामान्य भएपनि नेपाल भने भर्खरै यो दिशामा लम्कँदै छ ।
शारीरिकरुपमा अपांगता भएका व्यक्तिहरुका लागि सपांग भनिएकाहरुको हात लम्कनुपर्ने हो । तर, नेपाली समाजका त्यस भावनाको अझै विकास भइसकेको छैन ।
त्यसैले त दृष्टिविहीन हुन् वा दृष्टि क्षमतामा ह्रास आएका दाजुभाइ–दिदीबहिनी हुन्, उनीहरुको दिनचर्या निकै कठीन छ । जुन हाम्रा लागि कल्पनामात्र हो । न बिहानको उज्यालो, न त अस्ताएको सूर्यको आभास ।
दिन र रातको महसुस फगत अनुमानकाभरमा गर्नुको कुने विकल्प छैन । दृष्टि नहुँदाको कष्टकर जीवन कति असाध्य हुन्छ भन्ने भोग्नेलाईमात्र थाहा हुन्छ ।
उसो त २०६८ सालको जनगणनाअनुसार नेपालमा शारीरिक अपांगता भएकाहरुको एक दशमलव ९५ प्रतिशत रहेको छ ।
त्यसमध्ये दृष्टिविहीन र दृष्टि क्षमतामा ह्रास आएको व्यक्ति दुई लाखको हाराहारीमा रहेको मानिन्छ । यद्यपि, यो संख्या पनि यकिन भने होइन ।
यी व्यक्तिका लागि सेतो छडी नै जीवनको अभिन्न साथी हो । यसैको सहारामा हिँड्नु उनीहरुको बाध्यता हो । यद्यपि, यसमा पछिल्ला दिनमा विकास भएको प्रविधिले भने केही सरल बनाइदिएको छ ।
यसैका लागि त राष्ट्रिय अपांगता केन्द्रमा उनीहरुका लागि सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोग गर्ने विधि सिकाइने गरिन्छ ।
जसबाट दृष्टिविहीन भएकाहरुले सामाजीक सञ्जाल र मोबाइल चलाउने विधि सिकेर दैनिकीलाई सरल बनाएका छन् ।
साधारण मोबाइल सेट हुने दृष्टिविहीनले प्रायः कि प्याड र सम्बन्धित व्यक्तिको नम्बर कन्ठ गर्छन् भने आधुनिक सेट हुनेले ‘टक ब्याक’को एप डाउनलोड गरी एपमा दिइएको निर्देशनअनुसार फोन र सामाजिक सञ्जाल प्रयोग गर्छन् ।
यद्यपि, विश्वका अरु थुप्रै राष्ट्रमाझैं नेपालमा पनि अपांगमैत्री मोबाइल सेटको सुविधा भइदिएको भए जीवन अझ सरल हुने थियो होला ।
सामाजिक सञ्जालमा पनि टक ब्याकमार्फत् सपांगता भएका व्यक्तिलेसरह देश–विदेशमा रहेका आफना साथीभाइसँग दृष्यमा जोडिन नसकेपनि श्रव्यमार्फत् उनीहरुले जानकारी राख्न सक्छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्