
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रेको काम शुरु भएको छ । सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले शिलन्यास गरेसँगै कालोपत्रेको काम शुरु गरिएको छ ।
सडक डिभिजन हर्कपुर ओखलढुङ्गाको लागत र सोलुदूधकुण्ड नगरपालिकाको पहलमा निर्माण शुरु भएको उक्तसडकको लागत भ्याटसहित एक करोड ८१ लाख चार हजार ७५० रुपैयाँ रहेको छ ।
भुजेल निमार्ण सेवा ओखलढुङ्गालले निर्माणको जिम्मा पाएको सडकको कालोपत्रेको काम गएको माघबाट शुरु गरी आगामी असार २० गतेभित्र सम्पन्न गरिने सम्झौता गरिएको छ ।
सडकको शिलान्यास गर्दै सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले तिङला ग्रामीण विद्युतको कामदेखि शैक्षिक पूर्वधारको गुणस्तरीय विकासलगायत तिङलामा विकासले निकै गति लिएको उहाँले दाबी गर्नुभयो ।
त्यस्तै, तिङलाका जनताको माग बमोजिम सडक कालोपत्रेदेखि सुविधा सम्पन्न्न स्वास्थ चौकी निर्माण हुने भएकोमा मेयर शेर्पालाई विशेष धन्यवाद दिँदै वडा अध्यक्ष टङकबहादुर कार्कीले खुशी व्यक्त गर्नुभयो ।
यता निर्माण कम्पनीका प्रतिनिधि मदनकुमार राईले गुणस्तरीय सडक कालोपत्रे गर्नेमा कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्