अब गर्नु पर्ने के ? • Image Khabar Image Khabar


अब गर्नु पर्ने के ?


Imagekhabar
२२ भाद्र २०७३, बुधबार १७:२७

अब गर्नु पर्ने के ?

आदित्यमान श्रेष्ठ – भन्नको लागि नेपालमा के छैन ?सबै कुरा छ । सरकार छ, संविधान छ, संसद छ, प्रशासन छ, न्यायालय छ । बाहिरबाट हेर्दा नेपाल एउटा सुसंगठित राज्य छ । कानूनी राज छ । तर गहिरिएर हेर्यौ भने त्यहाँ छिद्र छिद्र छ । कुनै पनि राज्यको अंग या संयन्त्रले राम्ररी काम गरिरहेको छैन । मानिसहरू सुरक्षित ठान्दैनन् । न्याय पाउँदैनन् । कुनै सरकारी अड्डामा काम पर्दा पैसा नखुवार्इ काम हुँदैन । त्यसको सुनवार्इ कतै हुँदैन । भ्रष्टाचार चारैतिर फैलिएको छ ।

राष्ट्रिय ढुकुटीको हिनामिना भइरहेको छ । जनताको धन सत्तामा रहेका नेता, सांसद, कर्मचारी र उनकै भार्इ बन्धुहरूले दुरूपयोग गरिरहेको छ । विकासको कामको कुरा सम्म गरिन्छ तर त्यो कार्यान्वयन हुँदैन । मानिसहरूलार्इ आशा दिलाइन्छ तर कहिले पुरा हुँदैन । ठुलाठुला विकासका आयोजनाहरू या त अन्तर्राष्ट्रिय चंगुलमा परेका हुन्छन् या प्रशासनिक कचिंगलमा परेका हुन्छन् या भ्रष्टाचारको चपेटामा फँसेका हुन्छन् । अब सवाल उठ्छ यस्तो अव्यवस्था कहिले सम्म चलिरहने या चलिरहन दिने ? यसको उत्तर हामीले खोज्नु परेको छ । यसकोलागि यो प्रक्रिया अपनाउनु पर्द छ ।
सर्व प्रथम, दस वर्ष सम्म छरिएका भ्रमहरूबाट मानिसहरू बाहिर निस्कनु पर्यो । मानिसहरूले यो संविधान, यस अन्तर्गत बन्ने या बनाइएको सरकार, यो व्यवस्था, यी राजनैतिक दलहरू, यी राजनैतिक नेताहरूबाट जुन आशा गरिरहेका छन् सो कहिले पनि पुरा हुन सक्दैन । यिनीहरूबाट यो देशको रक्षा, उन्नति र सुव्यवस्था कहिले पनि हुन सक्दैन ।
यिनीहरूले प्रगति, उन्नति र सम्वृद्धिको जुन भ्रम छरेका छन् त्यो चिर्नु जरूरी छ ।

दोस्रो कदम, त्यसैले प्रत्येक नागरिकले सोंच्नु जरूरी छ कि उसले चाहेको के हो ?के उसले गरिखान देउ भनेको होइन ? के त्यसको माने म परिश्रम गर्छु, पसिना बगाउँ छु, कमाउँ छु, जहान बच्चा पाल्छु भनेको होइन ? के उसले म माथि अन्याय नहोस्, भयो भने न्याय सजिलोसित पाउन सकियोस्, न्यायको लागि वर्षौं कुर्न नपरोस्, नेताहरूको ढोका ढोका चाहार्नु नपरोस् भनेको होइन ?

तेस्रो कुरा, के उसले आफ्नो ज्युज्यानको सुरक्षा होस्, रात विरात मेरो घरको ढोका फोरेर, बाहिर लतारेर, पिट्ने, मारिदिने काम नहोस् भनेको होइन ? के उसले आफ्ना बालबच्चाहरू राम्ररी स्कूल जान पाउन्, पढ्न पाउन्, हडताल र धरनाबाट स्कूल कलेज बन्द नहोस् भन्ने चाहेको होइन ? के उसले विमारी हुँदा घर नजिक अ‍ौषधि उपचार पाइयोस् भनेर खोजेको होइन ? के ती सुबिधा उसले पाएको छ रु पाए कै छ भने पनि कति जनाले पाएका छन् ?

चौंथो कुरा, नेपालमा हरेक वर्ष ४,५ लाख केटाकेटीहरू काम गर्न लायक हुन्छन् । काम खोज्छन् तर पाउँदैनन् । के उनीहरूले स्वदेश मै काम पाए हुँदो हो भनेर सोंचेका होइनन् ?नपाएपछि विदेशिन खोज्छन् र विदेशिन्छन् । तर के उनीहरूले सजिलो सित कामको व्यवस्था होस्, ठगी नहोस्, बेइमानी नहोस्, भनेको तलब सुबिधा पाइयोस् भन्ने खोजेका होइनन् ? तर पाउँदैनन् । सरकार भन्छ हवार्इ टिकट र भिसा शुल्क लाग्दैन, सित्तैमा पाइन्छ, त्यसको लागि पैसा तिर्नु पर्दैन । तर के पैसा नतिरी कतै काम पाएका छन् ? नदेखाइकन बढी पैसा नतिरीकन के कसैले नोकरी पाएको छ ? त्यसतो सरकारलार्इ के भन्ने ? सरकार भन्ने कि लम्फु भन्ने रु नक्कली भन्ने कि सक्कली ? अनि यस्तै सरकार, यस्तै मन्त्री, यस्तै कर्मचारीबाट के के न होला भनेर आशा गर्ने ?

पाचौं कुरा, के मानिसहरूले चाहेको होइन घरबाट बाहिर निस्कँदा सडक राम्रो होस्, सफा होस्, धुलो नउडोस्, फोहोर थुप्रिएको हेर्न नपरोस्, त्यसबाट निस्केको दुर्गन्धले नाख थुन्न नपरोस्, गाडीको धक्काले घाइते हुन नपरोस्, गाडीको हर्नले कान थुन्न नपरोस् । सार्वजनिक यातायातमा अनुशासित ढंगले चढ्न पाइयोस्, ओर्लिन पाइयोस्, धेरै घुइचो नहोस्, पाकेटको पर्स चोरी नहोस् तर के कसैले यी चिजहरू पाएका छन् ?

छैठौं कुरा, यी कुराहरू पाएका छैनन् भने सर्व प्रथम आफैसित सोध्न पर्यो किन नपाइएको ? उत्तर आएन भने अरू सित सोध्नु पर्यो । प्रश्न उठ्नु पर्यो सबैबाट, सबैतिर, किन किन भनेर ?किन तपार्इ हामीले दुःख पाउनु परेको ? कसको कारणले यो सब भोग्नु परेको हो ? के यसकोलागि के देशका प्रधानमन्त्री, मन्त्री, सचिव, सञ्चालकहरू जिम्मेदार छैनन्? के तपार्इ हामीले उनीहरूले भने सरह निर्वाचनमा भाग लिएनौ ? के हामीले रूचाएका दल र नेतालार्इ भोट दिएनौ ? के उनीहरूले हामीलार्इ शान्ति सुरक्षा र विकास दिन्छु भनेका होइनन् ? किन नदिएको ?हाम्रो के गल्ति छ ?तिम्रो जिम्मेदारी हो कि होइन?किन पुरा भएन ? किन झुठ बोलेको ? सोध्नुस हरेक नेता, हरेक कर्मचारी सित — के हो तिम्रो कर्त्तव्य ? के हो तिम्रो अधिकार ? के हो तिम्रो जिम्मेदारी ? के हो तिम्रो क्षमता? तिमी काहाँ थियौ, काहाँ पुग्यौ ?तिम्रो उन्नति हुने, विकास हुने तर हाम्रो किन नहुने ?

सातौं कदम, यी प्रश्नहरूको उत्तर हामी सबैलार्इ थाहा छ । तर अगाडि सरेर कसैले पनि दिने साहस गर्दैनन् । त्यस पछि प्रश्न गर्ने अवस्था रहन्न । त्यसको ठाउँमा विकल्प खोज्नु पर्द छ । बेर्इमानीको ठाउँमा र्इमान्दारी खोज्नु पर्द छ । असक्षमको बदलामा सक्षम खोज्नु पर्द छ । अस्वस्थको ठाउँमा स्वस्थ खोज्नु पर्द छ ।भ्रष्टको ठाउँमा शुद्ध खोज्नु पर्द छ । के तपार्इले अगतिलो डाक्टरको बदला गतिलो डाक्टर , अगतिलो शिक्षकको ठाउँमा गतिलो शिक्षक, अगतिलो मिश्रीको ठाउँमा गतिलो मिश्री, अगतिलो अ‍ौषधिको ठाउँमा गतिलो अ‍ौषधि, अगतिलो खानाको ठाउँमा गतिलो खाना खोज्नु हुन्न ? यदि खोज्नु हुन्छ भने किन अगतिलो व्यवस्था, अगतिलो नेता, अगतिलो कर्मचारी, अगतिलो न्यायाधिश, अगतिलो सभासदलार्इ मानेर बस्नु भएको छ ? के खोज्दै गए पछि एक न एक दिन तपार्इले भनेको जस्तो मानिस, व्यवस्था, नेता सबै फेला पार्नु हुने छैन ? अवश्य फेला पार्नु हुने छ । खोज्न छाड्यौ भने हामी डुब्छौ, देश डुब्छ, तपार्इ हाम्रा सन्तान डुब्छन् । यदि यही चाहेको हो भने चुप लागेर सहेर बस्नुस् । होइन भने कराउनुस् आवाज उठाउनुस्, अघि सर्नुस् । विकल्पले तपार्इलार्इ खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्