‘मधेस सरकार’ शब्दले भम्र फैलाउँदै • Image Khabar Image Khabar


‘मधेस सरकार’ शब्दले भम्र फैलाउँदै


Imagekhabar
२२ भाद्र २०७३, बुधबार २१:३५

‘मधेस सरकार’ शब्दले भम्र फैलाउँदै

कपिलवस्तु, भदौ २२ । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए । तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हुँदै नेपालकोे कृष्णनगर प्रवेश गरे ।

उनी नेपाल प्रवेश गर्दा अचम्मित परे, किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर लेखिएको थियो भने अहिले ‘मधेस सरकार आपका स्वागत करता है’ हेर्दा तिवारी छक्क परे ।

उनले मधेस सरकार लेखिएको देख्दा म कुन देश आएँ भन्दै यताउता सोध्न थाले । यो त प्रतिनिधि घटनामात्र हो ।

हिजोआज दैनिकजसो कृष्णनगर नाका हुँदै नेपाल भित्रने अधिकांश भारतीय नागरिक अलमल्ल पर्ने गरेको कृष्णनगरका हरिबोल गुप्ताले बताए ।

गत वर्ष साउनदेखि चर्किएको मधेस अन्दोलनमा मधेसी दलका माग र नाराले अहिले भ्रम फैलिएको छ । कपिलवस्तुका प्रायः सबै सरकारी निकाय, चोक, चौराहामा मधेस सरकार र मधेसी दलका माग लेखिएको देख्न पाइन्छ ।

आन्दोलनकाक्रममा मधेसी दलका नेता तथा कार्यकर्ताले नेपाल सरकार लेखिएको ठाउँमा मधेस सरकार लेखेका थिए ।

कपिलवस्तुमा रहेका गाविस भवन, स्वास्थ्यचौकी, अस्पताल, विद्यालय, विद्युत् प्राधिकरण, टेलिकमलगायत संघ–संस्थाका कार्यालय, चोकमा मधेस सरकार लेखिएको छ ।

मधेस सरकार लामो समयदेखि लेखिएकाले सेवा लिन आउने सेवाग्राहीसमेत साँच्चै नै मधेस सरकार भयो कि ? भन्दै कार्यालय प्रमुखसँग प्रश्न गर्ने गरेको कर्मचारी बताउँछन् ।

मधेस सरकार लेखिँदा कपिलवस्तुका बालबालिकामासमेत नकारात्मक असर पर्दै गएको छ । विभिन्न ठाउँमा लेखिएको ‘मधेस सरकार’ शब्दले गर्दा बालबालिकाले यो नेपाल सरकार हो कि मधेस सरकार भन्दै भ्रममा पर्नेगरेका छन् ।

आन्दोलनकाक्रममा विभिन्न किसिमका प्रचार सामग्रीले गर्दा तराईमा नकारात्मक टीकाटिप्पणी हुन थालेका छन् ।

केही हप्ता पहिले सरकार र मधेसी मोर्चाबीच मधेसका समस्या समाधानका लागि तीनबुँदे सहमति भयो ।

तर, अन्दोलनकाक्रममा लेखिएका ‘मधेस सरकार’ लेखिएका होर्डिङ बोर्ड हटाउनेतर्फ कसैको ध्यान पुगेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्