३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


बस्नेतलाई प्रमूख सचेतक बनाउँदै दाहालले भने, ‘हामी सत्तामा रहेरै तीनवटै निर्वाचन हुन्छ’


0
Shares

काठमाडौं, भदौ २४ । नेकपा माओवादी केन्द्रको संसदीय दलको प्रमूख सचेतकमा सांसद टेकबहादुर बस्नेत चयन भएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न संसदीय दलको बैठकले बस्नेतलाई प्रमूख सचेतकमा चयन गरेको हो ।

बैठकले प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल, उपनेता टोपबहादुर रायमाझी, प्रमूख सचेतक टेकबहादुर बस्नेत, सचेतक सीता नेपाली, सांसदहरु गिरीराजमणि पोखरेल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, शक्ति बस्नेत, प्रभू साह, गणेशमान पुन, रेखा शर्मा, रामनारायण बिडारी, सन्तु दराई, शिबकुमार मण्डल रहेको संसदीय बोर्ड गठन गरेको छ ।

बैठकले संसदीय बोर्डको कार्यविभाजन पनि गरेको छ । बैठकले सांसद बस्नेतलाई प्रमूख सचेतक, सांसद रामनारायण बिडारीलाई बोर्ड सचिवको जिम्मेवारी दिएको छ । त्यसैगरी सांसद अग्निप्रसाद सापकोटालाई संसदीय सुनुवाई समिति, प्रदेश संयोजकको जिम्मेवारी १ नं. मा शिबकुमार मण्डल, २ नं. मा रामसिंह यादव, ३ नं. मा सन्तु दराई, ४ नं. मा कृष्ण धिताल, ५ नं. मा डोरप्रसाद उपाध्याय, ६ नं. मा महेन्द्रबहादुर शाही र ७ नं. मा हरिलाल ज्ञवालीलाई दिने निर्णय बैठकले गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा दलका नेता दाहालले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने बताए । उनले दलको भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिए ।

‘तीनवटै निर्वाचन सम्पन्न गरिञ्जेलसम्म हामी सरकारमा हुन्छौं,’ उनले भने, ‘त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ ।’

प्रधानमन्त्री दाहालले सरकारले दलीय ध्रुवीकरण घटाएको दाबी गर्दै भने, ‘देश डरलाग्दो ध्रुवीकरणमा जाने खतरा थियो । सरकारले आन्तरिक राष्ट्रिय सम्बोधन गरेर बलियो राष्ट्रिय एकताको आधार तयार पारेको छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण कुटनीतिक सन्तुलन र सम्बन्धमा केन्द्रित हुने जानकारी गराउँदै दुई छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको संसदीय दललाई जानकारी गराएका थिए ।