
पोखरा, भदौ २४ । इमेज च्यानलले आयोजना गरेको लोकगीत गायनको बृहत् प्रतियोगिता ‘इमेज लोक कलाकार’ प्रतियोगिताको अडिसन शुक्रबारदेखि सुरु भएको छ ।
पोखराको होटल जलमहलको चचहुई फनपार्कमा अडिसन सुरु भएको हो । गाउँ–गाउँमा लुकेर रहेका प्रतिभा खोजीका लागि आयोजित प्रतियोगिताको अडिसन शनिबारसम्म जारी रहनेछ ।
अडिसनका लागि पश्चिमाञ्चलका विभिन्न जिल्लाका एक सय बढी प्रतियोगीहरुले शुक्रबार पहिलो दिनको अडिसनमा भाग लिएका छन् । उत्कृष्ट प्रतियोगीलाई दास्रो चरणका लागि छनोट गरिएको छ ।
पोखरा अडिसनका लागि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, गायिका शान्ति गुरुङ र तेजेन्द्र गुरुङ निर्णायकमा रहेका छन् ।
अन्तिम चरणमा उत्कृष्ट भएका प्रतिभालाई नगद एक लाख रुपैयाँ पुरस्कारका साथै भिडियोसहितको गीति एल्बम निकाल्ने अवसर प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्