पुरस्कार नलिनु चाहिँ पुरस्कार ! • Image Khabar Image Khabar


पुरस्कार नलिनु चाहिँ पुरस्कार !


Imagekhabar
२६ भाद्र २०७३, आईतवार १५:४३

पुरस्कार नलिनु चाहिँ पुरस्कार !

पेशल आचार्य –

‘जीवनभन्दा ठूलो पुरस्कार संसारमा केही छैन ।’ यो शाश्वत वाणि हो । अमृत वचन हो । तर मानिसहरू सानातिना कामहरू गर्दा पनि पुरस्कारको आसा राख्छन् । सिकाइमा ससाना केटाकेटीहरूलाई पुरस्कार दिइन्छ । यसले सिक्न मोटिभेसन गर्छ । मनोविज्ञान यसै भन्छ ।

हुन त संसारैभरि विभिन्न क्षेत्रमा राम्रो काम गर्ने मानिसलाई पुरस्कार दिइन्छ । अहिलेसम्म गरिँदै आइएको छ । अर्को पाटो पनि छ –पुरस्कारको । अन्तिम सत्य नै पुरस्कार होइन । पुरस्कारले मात्र मानिसको अब्बलपनाको मापन भने गर्दै गर्दैन । पुरस्कार पाउने मानिस ठूलो र नपाउने मानिस सानो भन्ने कुरा हुँदैन । यो सब आआफ्नो हेराइ हो । अतः पुरस्कार सापेक्ष हुन्छ । सबै मानिस पुरस्कारका लागि काम गर्दैनन् । जो मानिस पुरस्कारका लागि काम गर्छ त्यो नितान्त स्वार्थी हुन्छ । नेपालमा जस्तोसुकै र जत्रोसुकै पुरस्कार पाउनुलाई वर्तमान समाजमा सामान्य मानिसभन्दा निकै महत्वका साथ लिने र हेर्ने चलन छ । दिन दुगुना रात चौगुना अझ यो मानसिकता क्रमशः चुलिँदै गएको छ ।

विश्व पुरस्कार इतिहासलाई केलाउँदा त्यस्तो पाइँदैन । महान् प्रतिभा र मेधावी व्यक्तित्वले संसार थर्काउने नोबेल र पुलित्जरजस्ता नामी पुरस्कारहरू सहजै त्यागेका घटना छन् । नेपालमा जस्तो विकृतिले संसारमा पुरस्कार संस्कृतिमा जरो गाडेको देखिँदैन । गान्धारी मोथाइले मुलाबारीमा काम गर्दागर्दै संसारको महान् फेमिनिष्ट पुरस्कार पाएकी थिइन् । पुरस्कारको गीता संसारमा एक र नेपालमा अर्को देखिएको छ ।

गएको ५ भदौ, २०७३ को ‘नेपाल’ साप्ताहिकमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले पाएका पुरस्कार र उनले सो पुरस्कारहरूको व्यवस्थापन गर्न नसकेको सन्दर्भ केलाएर घत लाग्दो फिचर छापिएको छ । सरकारले अब उनको पुरस्कार व्यवस्थापन गरिदिनु पर्ने भनाइ राखिएको छ । सो फिचरमा घिमिरेलाई उनको अहिलेको बुढ्यौली उमेरका कारणले आफ्ना पुरस्कारहरू समेटेर राख्न गर्न नसक्दा हम्मेहम्मे परेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

नेपाली साहित्यमा सुदीर्घ जीवन बाँचेर धेरै पुरस्कार पाउने साहित्यकारको पङ्क्तिमा घिमिरे पनि पर्छन् जसले अहिलेसम्म महाकाव्य प्रकाशन गर्न भने सकेका छैनन् । यद्यपि उनको ‘ऋतम्भरा’ नामक महाकाव्य आउने भनिएको आधा दसक भैसक्यो । केही विद्वान् भन्छन् –उनलाई दिइएको पुरस्कार मन्दाक्रान्ता छन्दलाई दिइएको पुरस्कार हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफूभन्दा एकदसक कनिष्ठ कवि माधवप्रसाद घिमिरेलाई ‘माधव’ नामको महाकाव्य लेखेर देखाउँदा महाकाव्य यस्तो हुनुपर्छ भनेर दृष्टान्त दिने कवि घिमिरेकै महाकाव्य सत्तरीको दसकसम्म नआउनु तर देवकोटाका आधादर्जन महाकाव्य प्रकाशित हुनु र तिनै एक दर्जन महाकाव्यका विषयसन्दर्भ र चर्चाका कारण महाकविको कवित्व शक्तिको ओज उज्यालिनु आफैँमा एउटा सकारात्मक विरोधाभाष पनि हो । मानिस अरूलाई अर्ती दिन सक्छ तर त्यो आफैँमा पूरा गर्न सक्दैन । यो कुरा यहाँनेर लागू भएको देखियो ।

पञ्चायत कालको चर्चित साहित्यिक त्रैमासिक पत्रिका ‘रत्नश्री’ का सम्पादक तथा प्रकाशक मदनदेव भट्टराईका सुपुत्र तथा मदनशीला प्रतिष्ठानका सचिव मणिदेव भट्टराईका शब्दमा –‘माधव घिमिरे जस्तो÷जत्रोसुकै पुरस्कार लिने प्रवृत्तिका कवि हुन् । दीर्घ जीवनकै कारण उनले यति धेरै सम्मान र पुरस्कार पाएका हुन् । यद्यपि उनीभन्दा महान् कवि देवकोटा र लेखनाथको अल्पायुमै मृत्यु भएका कारण देशभित्र र विदेशमा पनि देखाउनकै लागि उनलाई पुसको दुवो बनाइएको हो ।’ कम्ति मार्मिक छैन –यो भनाइ ।

निबन्धकार माधव काफ्लेको राष्ट्रकविका सन्दर्भमा खरो मूल्याङ्कन छ –‘कवि माधव घिमिरेकी प्रथम पत्नी गौरीको मृत्युपछि उनले हालकी पत्नी महाकाली देवी श्रेष्ठसँग विवाह गर्दा पत्नी १३ र कवि २७ वर्षका थिए । गौरी शोककाव्य लेखेर उनले जुन मानवतावादी सन्देश दिन खोजे, त्यो आफैँले चाहिँ व्यवहारमा त्यो लागू गर्न सकेनन् । चौध वर्षको फरकमा गरिएको दोस्रो बिहेमा दाम्पत्य शुरूशुरूमा कस्तो भयो होला । लेखनमा मानवतावादी हुनेले व्यवहारमा चाहिँ किन हुन नसकेका होलान् ?’ काफ्लेको प्रश्न अझै अनुत्तरित नै छ । सायद् यस प्रश्नको उत्तर कविवरको जीवनमा आधिकारिक तवरले आउनेवाला छैन । जबकि घिमिरेमाथि दजनौं प्राध्यापकहरूले विविध शोध र सन्धान अनि विद्यावारिधि गरेका छन् ।
    पुरस्कार र सम्मानबारे लामो समयदेखि गहिरो अध्ययन गर्दै आएका अध्येता डिल्लीराम मिश्र श्रमजीवीका अनुसार –‘नेपालमा करिब १२ सय सानाठूला मौसमी पुरस्कार र सम्मानहरू रहेका छन् । तिनीहरूको संख्या पञ्चायत कालभन्दा बहुदल र लोकतान्त्रिक गणतन्त्र कालमा झनै बढेर गएका छन् । जसमध्ये करिब २ सयजति पुरस्कार सरकारी र निजी क्षेत्रमा गरी क्रियाशील छन् । बाँकी सबै स्यालका सिङ् हराएजस्तै लाग्छन् ।’
    ‘गाली शिरोमणि’ उपनामले समेत चिनिने खरा लेखक खगेन्द्र संग्रौलाले पहिलापहिला पुरस्कार संस्कृतिमा आएको विकृतिका विरुद्ध अथाह लेखै लेखे । विद्रोही तवरको एक रूपैयाँ राशिको पुरस्कार पनि लिए तर जब उनलाई पद्यश्री सम्मानसहित रु. २ लाखको नगद दिइयो । उनले सरक्कै त्यो पैसा लिए । पत्रकारहरूले उनलाई खरो प्रश्न सोधे जवाफमा उनले भनेथे –‘अघिअघि पुरस्कार संस्कृतिप्रति नकारात्मक सोच थियो । सम्मानपत्र लिन्थे र दाम चाहिँ दिने व्यक्ति र संस्थालाई फकाउँथे । पद्यश्री लिने बेलामा मेरो मनस्थिति फेरियो । लिएँ ।’ यो भनाइमा द्रव्यमोह जस्तोसुकै स्पाती आस्थालाई पनि पगाल्न सक्छ भन्ने देखाउँछ ।

देवकोटाले जीवनमा एक रूपैयाँ पुरस्कार पाएनन् । मरेपछि उनकी पत्नी मन देवकोटाले २०२३ सालको इन्द्रराज्य लक्ष्मी पुरस्कार थापिन् । भूपिले साझा पुरस्कार पाए –जम्माजम्मी एक हजार रुपैयाँको । त्यो अहिले  पचास हजार राशिको भएको छ । केही वर्षदेखि साझा पुरस्कार घोषणा मात्र गरिएको छ दिइएको छैन । उधारो साझा पुरस्कार पाउनेहरू घोषणा भएको साझा पाएर हिस्स छन् ।

सीताराम पुरस्कार लिँदा मोदनाथ प्रश्रित र भूपालमान सिँह पुरस्कार लिँदा  श्यामप्रसाद विवादमै तानिए । समाचारले बजार ततायो । घोषणा मात्र गरिएको विश्वेश्वर शताब्दी पुरस्कार अझैसम्म कसैलाई पनि दिइएको छैन । कुनै पुरस्कारहरू पनि अब्बल लेखनका मानक होइनन् । समाजले नै लेखक र लेखनको मूल्याङ्कन गर्ने हो । थोरै तर कालजयी लेख्ने पुस्कर समशेर,      गोपालप्रसाद रिमाल, गुरुप्रसाद मैनाली आज नेपाली साहित्यकाशका अमर तारा बनेका छन् । खोजीपस्ता यस्ता थुपै्र सर्जक नेपाली साहित्यमा चम्किँदा नक्षत्र बनेर रहेका हूनन् ।

भदौ, १२, २०७३ कै ‘नेपाल’ मा कवि श्यामलको पुरस्कार र सम्मानका बारे आक्रमक लेख छापिएको छ । सो लेखले नेपाली समाजमा पछिल्लो समय बढ्दै गएको सम्मानको बेपार र पुरस्कारे विकृतिका बारेमा आन्द्राभूँडी खोलेर चर्चा गरेको छ । त्यसो त बहुदल आएपछि कथाकार किशोर पहाडीले नगेन्द्रराज प्रसाईंसँग आफूलाई जोडेर ‘युवा वर्ष मोति पुरस्कार’ दिइँदा अस्वीकार गरेका थिए । जुनबेला लिने प्रसाईंभन्दा नलिने पहाडीको चर्चा धेरै भयो ।

‘तीनतीन चोटी मदन पुरस्कार पाउने सत्यमोहन जोशीभन्दा आख्यानकार विजय मल्ल र नाटककार गोविन्द गोठाले कुन हिसाबले कम छन् ? तर पनि मल्ल दाजुभाइले मदन पुरस्कार पाएनन् । ऐतिहासिक उपन्यास लेखेर नेपाली साहित्यमा नाम कमाएका डायमण्ड समशेरले मदन पुरस्कार पाएनन् । उहिलेका लेखक लेख्थे पुरस्कारका चाकरीमा दौडिदैनथे । अहिलेका ठिनेमिनेहरू पुरस्कारलाई तारो बनाएर बाजारू साहित्य लेख्छन् । विरोधाभाष छ लेखनमा ।’ –नामोल्लिखित नगर्ने सर्तमा एकजना वरिष्ठ कवि सुनाउँछन् । ‘वर्तमानमा राम्रो लेख्ने नारायण ढकाल र नयनराजहरू पनि मदन पुरस्कारको कित्ता भित्र नपर्नु अचम्मको विषय भएको छ ।’ तिनै कवि भन्दछन् ।

नेपालमा पुरस्कारको बेपार चलेको छ । तँ ली म दिन्छु । म लिन्छु तँ दे । यी र यस्तै संस्कृतिमा काम, दाम र नाम हत्याउन चाहनेको भीड पुरस्कारको दौडमा देखिन्छ । पाँच हजारको पुरस्कार पाउन पन्ध्र हजार लगानी गर्नु पर्ने अनि कुनै पुरस्कार खाममा एउटा अंक लेखिने र भित्र अर्को अंक हुने पनि देखिएको छ । भुक्तभोगीहरु यसै भन्छन् ।

कालजयी लेखन, गायन, संगीत र अभियनलाई नै पुरस्कार मान्नेहरूले काला कर्तुतबाट राखिएका पुरस्कारहरू नै वहिष्कार गर्ने या सस्ता पुरस्कार भएजति सबै थाप्नेलाई सामाजिक वहिष्करण गर्ने कि । अब यस सन्दर्भमा पनि बहस चलाउन अबेर भैसक्यो । होइन र ?
                    

प्रतिक्रिया दिनुहोस्