जंगे सीमाखम्बा नहुुँदा लालपुर्जा ‘कागजको खोस्टा’ • Image Khabar Image Khabar


जंगे सीमाखम्बा नहुुँदा लालपुर्जा ‘कागजको खोस्टा’


Imagekhabar
२६ भाद्र २०७३, आईतवार २०:१६

जंगे सीमाखम्बा नहुुँदा लालपुर्जा ‘कागजको खोस्टा’

 डा बुद्धिनारायण श्रेष्ठ – सीमाको अवस्था र जंगे सीमाखम्बाको स्थिति र अवस्थिति अवलोकन अध्ययन गर्न संसदीय टोली २०६६ पुस ११ गते नवलपरासीको सुस्ता क्षेत्रबाट प्रारम्भ गरी रुपन्देही मर्चवारको जंगेस्तम्भ नं. ५४१ (३२) गन्तिगर्दै रसियावाल–खुर्द–लोटन जोर्तिबॉध तथा कपिलवस्तु कृष्णनगर क्षेत्रको जंगेलठ्ठा नं.५६७-१ तथा २, अनि ६२२(७), ६३०(६३) तथा ९७(५६८) निरीक्षण गर्दै पुस १४ गते बर्दिया पुगेछ । गुलरिया नगरपालिका वडा नं. ९ तथा ११ चौगुर्जी क्षेत्रमा स्थलगत अवलोकन गर्दा जंगे सीमाखम्बा न.८७ जमिनमा देखिएनछ । साथै स्तम्भ न. ६२, ६३ र ६४ का बीचबीचमा सहायक खम्बाहरू नगाडिएका कारण सीमा मिचिएको तथा दसगजा क्षेत्र हराइरहेकोे देखिउछ । निरीक्षण भ्रमणमा आएका संसदीय टोलीका साथमा बर्दियाका प्रमुख जिल्ला अधिकारी वेणिमाधव ज्ञवाली तथा नेपाल प्रहरीका डिएसपि र सशस्त्र प्रहरीका जवानहरू पनि सामेल रहेछन् ।

सीमा अवलोकन गर्ने क्रममा नापी विभागका अधिकृत कुमार कार्कीले साथै ल्याएका सीमानक्सा वुद्धेले अध्ययन गरी जमिनमा भिडाउने क्रममा खम्बा न. ८७ यतैतिर हुनुर्पे हो तर जमिनमा भेटिएन भनेछन् । यत्तिकैमा एकजना कालो वर्णको स्थानिय वासिन्दाले भनेछन्– हुजूर, यहाँको लठ्ठा त उहिल्यै उखेलेर फालिसके । बुद्धेले उसलाई सोधेछ– तपाईंको नाम के हो ? जवाफ आयो– नुवाजत धोबी । उनले प्रमुख जिल्ला अधिकारीलाई चिनेका रहेछन् । नुवाजत धोबीले प्रजिअतर्फ फर्कदैं आफ्नो धोतीमा घुसारेको एउटा सेतो र अर्को रातो बाक्लो कागज निकालेछन् र प्रजिअलाई देखाउँदै भनेछन्– ‘हुजूर, मेरो १० कठ्ठा ७ धुर जमिनको लालपट्टा (लालपुर्जा) यहि हो ।

मेरो यो लालपट्टाको जमिन छिमेकी भारतीय वासिन्दाले मिचेर खाइरहेको छ । मेरो जमिनमा टेक्न जाँदा तेरो पैर भाँचिदिन्छु भन्छ । अन्यत्र मेरो कतै पनि जमिन छैन । अब म यो खोस्टो लालपट्टा लिई सुकुम्वासी भएर खान नपाई नेपाली भएर मरु‘ कि म मेरो जमिन भोग गर्न भारतीय नागरिक हुन जाँउ ?’ यत्तिकैमा प्रजिअ वेणिमाधव ज्ञवालीले भनेछन्– ‘गुलरिया आउनोस्, मालपोत र नापीको कर्मचारीलाई राखेर तपाईंको कुरामा छलफल गर्छौं । अनि, पारिको डिएमसँग भन्नुपरे पनि भनौंला ।’

    एउटा नेपाली किसानको यस्तो दर्दनाक वेदना पोखिएको माहोलमा बुद्धेचाहिँ घोसेमुन्टो लगाएर सोचिरहेका रहेछन्– ‘जंगे सीमाखम्बा नं. ८७ को अस्तित्व नै गायब भएकोले कतै नुवाजत धोबी जस्ता सयौं, हजारौं नेपाली नागरिकको अस्तित्व नै धरापमा पर्ने त होइन ? यहाँ सरोकारवाला सरकारी पदाधिकारीले जंगे सीमाखम्बाको उपस्थिति नगराइदिएको हु‘दा सीमारेखा स्पष्ट भएको छैन र दशगजाको नामोनिशाना गायव भएको छ । यसैले सीमावर्ती बलियो किसानले निर्धो किसानको जग्गामा अन्तर–सीमा जोतकमोत मिचान (Cross-holding Occupation) गर्दा नुवाजत धोबीजस्ता निमुखा नेपाली किसान जग्गाविहीन हुनपुग्दै उनीहरूको लालपुर्जा एउटा खोस्टो कागजको रुपमा परिणत हुन पुगेको छ । यस्ता प्रकरणमा दुवै देशका प्राविधिकको सकृयतामा त्यस्ता लालपुर्जालाई पुनर्जीवन दिने प्रवन्ध गर्नुपर्छ ।’ (श्रेष्ठको भर्खरै प्रकाशित ुजङ्गे र बुद्धेु पुस्तकबाट साभार )

प्रतिक्रिया दिनुहोस्