दार्जीलिङले के सिकायो ? सूधपा को हुन् ? • Image Khabar Image Khabar


दार्जीलिङले के सिकायो ? सूधपा को हुन् ?


Imagekhabar
२७ भाद्र २०७३, सोमबार २०:३०

दार्जीलिङले के सिकायो ? सूधपा को हुन् ?

नरेन्द्रराज प्रसाई – नेपाली भाषासाहित्यका तीन जना विभूतिलाई त्रिमूर्ति भनिन्छ । अनि ती त्रिमूर्ति हुन्( कविशिरोमणि लेखनाथ पौडयाल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा । यी तीन जनालाई त्रिरत्नु अथवा भनौं नेपाली भाषासाहित्यका महारथीहरू (सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधान)ले नै एउटै माला उनेर त्रिमूर्तिको नाउँबाट सम्मान गरेका थिए।

नेपाली भाषासाहित्यमा सूधपा त्रिरत्नका नाउँमा दार्जीलिङमा स्थापित भएको थियो । साथै नेपालबाट संवत् २००९ सालमा दार्जिलिङ पुगेकै बेला त्रिमूर्ति अथवा भनौं लेखनाथ, सम र देवकोटालाई सर्वप्रथम त्रिरत्नले नै सम्मान गरेका थिए । साहित्यको एउटा त्रिमूर्तिले अर्को त्रिमूर्तिलाई यसरी सम्मान गरेको पनि नेपाली भाषासाहित्यको इतिहासमा यो नै पहिलोचोटि थियो ।

‘त्रिमूर्ति’ र ‘त्रिरत्न’को मञ्चको विशिष्ट र अनुकरणीय लहरो समाउँदै त्यसपछि फेरि तीनै जना स्रष्टाको एउटा सशक्त समूह तयार भयो । इन्द्रबहादुर राई, वैरागी काइँला ईश्वरवल्लभले ‘तेस्रो आयाम’का नाउँमा अर्को मञ्च स्थापना गरे । त्यस बेला तेस्रो आयमको नेतृत्वले दार्जीलिङक्षेत्र बेग्लै रौनकमा रङ्गिएको थियो । त्यसैले इन्द्रबहादुर राई, बैरागी काइँला ईश्वरवल्लभलाई तेस्रो आयामुका प्रवर्तक भनेर सगौरव सम्बोधन गरियो ।

यसै रीतले नेपाली भाषासाहित्यमा प्रेमराजेश्वरी, गोमा र पारिजातको एउटा सशक्त समूहलाई ‘त्रिनारीरत्न’का रूपमा मोदनाथ प्रश्रित, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईद्वारा जनसमक्ष ल्याइयो । यसरी नेपाली साहित्याकाशमा त्रिमूर्ति, त्रिरत्न, तेस्रो आयाम र त्रिनारीरत्नको बेग्लाबेग्लै अस्तित्व निर्माण भएको छ ।

अत्यन्तै बलियो, चिरस्थायी र लोकप्रिय ढङ्गबाट चारवटा ठुलाठुला चौतारीमा बाह्र जना साहित्यकारहरूको मौलिक स्तम्भ क्रमशः तयार भयो । यो चार ओटा स्तम्भमध्ये त्रिरत्न अथवा भनौं सूधपा वनारस र दार्जीलिङ सेरोफेरोमा नै आबद्ध भयो, त्यहीं मौलायो र त्यहीं झाङ्गियो । साथै यो संस्थाको सुभाष नेपालका डाँडापाखा पनि आइपुग्यो । सूधपको खास जरा, हाँगा र पातहरू जति र जहाँ फैलिए तापनि यो भारतमा नै बेस्सरी मौलायो । वास्तवमा त्यहीं नै यिनीहरूले प्रसिद्धिको आकाश निर्माण गरेका थिए ।

सूधपा भन्ने एउटै शब्दको हार सन् १९४९ मा आविष्कार भएको थियो। त्यस बेला रूपनारायणसिंह ‘भारती’का प्रधानसम्पादक थिए । साथै त्यस पत्रिकाका सम्पादक चाहिं पारसमणि प्रधान थिए । सो पत्रिकाको वर्ष एक, सङ्ख्या दुईमा सूधपा उदाएका थिए । भनौं पारसमणि प्रधानले सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधान एउटा पाखामा थकाई मारेर बसेको समयको फोटोसहित एउटा कवतिा समेत लेखेका थिए-

दार्जीलिङले के सिकायो ? सूधपा को हुन् ?
हाँस्तछन् सकललाई हँसाई
को हुनन् रु चिन र लेख मलाई
हेर खोज अनि नाउँ बताऊ
सू-ध-पा-इनँ भनी नलजाऊ !

त्रिरत्न अथवा सूधपाले भारतमा नेपाली भाषासाहित्यको विकास, प्रवर्धन र विस्तारका लागि अनेक गर्‍यो । वास्तवमा यी तीनजना नभए भारतमा आजको भाषिक र साहित्यिक जागरण यस प्रकारले वृहत्, ओजस्वी र गरिमामाय ढङ्गबाट मौलाउनै सक्तैनथ्यो । भारतका चाहे शैक्षिक प्रतिष्ठानहरूमा नेपाली भाषाको पढाई गरेर होस्, चाहे नेपाली भाषाबारेका सङ्घसंस्थाको स्थापना गरेर होस् र चाहे साहित्यिक सभासमारोहहरूको आयोजना गरेर होस् यी सबै कृत्यहरू गर्ने र गराउनेमा गुरुत्तर भूमिका खेल्ने नै सूधपा थिए । त्यतिमात्र नभएर धेरैलाई लेखाउने र किताप छापिदिने काम समेत यही संस्थाले पनि गरिदिएको थियो । उनीहरूले नेपाली भाषालाई शिखर आरोहण गराउने हेतु अनेक गरे । उनीहरूले नेपाली भाषा र साहित्यका लागि हरेक पल्ट आआफ्ना बौद्धिक कला रोपिरहे । वास्तवमा यी तीनै जना आआफ्ना क्षेत्रमा आआफ्नै सीपले पूर्ण थिए । यिनीहरू आफै लेख्थे, आफै भाषण गर्थे र आफै सङ्घसङ्गठनको स्थापना गर्थे ।

सूधपाको लगन, जोश र समर्पणका कारणले नै २००६ साल असार ४ गते भारतको दार्जिलिङमा आदिकवि भानुभक्त आचार्यको सालिक समेत निर्माण भएको थियो । भरतीय नेपाली भाषा साहित्यका महारथी नरबहादुर दाहालका अनुसार पश्चिम बङ्गालका राज्यपाल कैलाशनाथ काटजुबाट भानुभक्तको सालीक अनावरण गरिने कार्यक्रम किटान भएको थियो । तर उनी अचानक अस्वस्थ भएर समारोहमा उपस्थित हुन सकेनन् । अनि उनको प्रतिनिधित्व गरेर उनकी पुत्रवधूले उक्त सालिकको उद्घाटन गरेकी थिइन् । त्यस बेला राज्यपाल कैलाशनाथले आफ्नी बुहारी हस्ते आदिकवि भानुभक्त आचार्यको सालीक उद्घाटन समारोहका लागि सन्देश पठाएका थिए । पश्चिम बङ्गालका राज्यपालबाट उक्त सन्देशमा लेखिएको थियो( “भानुभक्त नेपालका मात्र कवि होइनन् उनी हाम्रो महान् भारतका पनि कवि हुन् ।”त्यस कालखण्डमा नेपाली भाषाका नेपाली कविलाई भारतले त्यसरी ससम्मान प्रस्तुत गरिंदिदा नेपाली भाषाको इज्जवतमा बढोत्तरी भएको मानिन्थ्यो र यो सानो कुरा पनि थिएन ।

दार्जिलिङमा भानुभक्तको सालिक बनाउनुअघिसम्म पनि नेपालमा भानुभक्तको सालिक बनाउने कुनै योजना नै थिएन । त्यतिमात्र होइन भारतमा भानु जयन्ती मनाउने परम्पराको थालनी भएपछि मात्र नेपालमा पनि भानु जयन्ती मनाउन थालिएको थियो । वास्तवमा नेपालमा आदिकवि भानुभक्त आचार्यबारेको औपचारिक कार्यक्रमहरू गर्नका लागि भारतका सुधपा नै गुरू थिए ।

भारतमा नेपाली भाषासाहित्यको विस्तार गराउने श्रेय सूधपालाई नै जान्छ । वास्तवमा यिनीहरूकै सक्रियता, पहल र नेतृत्वमा भारतको सिक्किम, दार्जिलिङ, असम राज्य र त्यसको सेरोफेरो अनि त्यही परिवेशका अन्य ठाउँहरूमा चाडका रूपमा भानु जयन्ती मनाउने र त्यस दिन ती ठाउँमा बिदा दिने चलन पनि यिनीहरूकै कारणले चलेको थियो । यसरी भारतमा नेपाली भाषा र साहित्यको इज्जत बढाउने काममा सूधपाको नै महत्त्वपूर्ण भूमिका रहिआएको छ ।

त्रिरत्नको जीवनभरको तपस्याका कारण त्यस ठाउँमा नेपाली भाषा र साहित्यप्रति अत्यन्तै गर्व मानिने परिपाटिको मात्र विकास भएन अन्ततस् भारतका राष्ट्रिय भाषाहरूमा नेपाली भाषाले पनि संवैधानिक मान्यता पाएको थियो । नेपाली भाषाका त्यस्ता वीर महापुरूषहरूको योगदान नेपाली भाषा साहित्यको इतिहासले स्वार्णाङ्कित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्