१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


साल्ट ट्रेडिङ कम्पनीलाई पेट्रोलियम भण्डारणको जिम्मा लिन आग्रह


0
Shares

काठमाडौं, भदौ २७ । सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह गरेको छ ।

सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्यअगाडि बढाउने तयारीसँगै सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा तेल भण्डार स्थापना गर्न लागेको हो ।

आपूर्तिमन्त्री दीपक बोहराले साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको ५४ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारको कार्यअगाडि बढाउने नीतिगत निर्णय सरकारले गरिसकेकाले कम्पनीले यो कार्य गर्न सकेमा जिम्मा दिन तयार रहेको जानकारी दिए ।

उनले भने, ‘मैले महाप्रबन्धकलाई प्रस्ताव ल्याउन आग्रह गरिसकेको छु, राम्रो प्रस्ताव आएमा सरकारले कम्पनीलाई जिम्मादिन तयार छ । यो सेवाभित्रको नाफामूलक काम हो ।’

आपूर्तिमन्त्री बोहराले कम्पनीले वितरण गरिराखेको ग्यास व्यवसायले उपभोक्तामा सकारात्मक प्रभाव पारेको हुँदा अगामी दिनमा ग्यास उत्पादन प्लान्ट नै राख्न कम्पनीलाई निर्देशन दिँदै यसका लागि सरकारले सहयोग समेत गर्ने जानकारी दिए ।

हाल कम्पनीले विशेषगरी दैनिक उपभोग्यवस्तु नुन, चिनी, चामल, गेडागुडीका अतिरिक्त कृषिका मल, गहुँका बीउ सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको छ । गत आर्थिक वर्षमा कम्पनीले एक लाख ८० हजार मेट्रिक टन नुन, १५ हजार गहुँका बीउ, ३० हजार मेट्रिक टन चिनी तथा ८५ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरेको थियो ।

मन्त्री बोहराले सरकारले भूकम्प प्रभावित १४ जिल्लामा आवास निर्माणका लागि निर्माण सामग्री बैंक स्थापना गर्न लागेको जानकारी दिँदै यसमा कम्पनीलाई सहभागी हुन आग्रहसमेत गरे ।

बैंकले खासगरी निर्माणमा आवश्यक पर्ने छड, सिमेन्ट लगायतका वस्तु एउटै छानामुनि सुपथ मूल्यमा बिक्री–वितरण गर्नु रहेको मन्त्री बोहराले जानकारी दिए ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर र महाप्रबन्धक उर्मिला श्रेष्ठले सरकारको नीतिनियममा रही कम्पनीले आम उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोगका वस्तु बिक्री–वितरण गर्दै आएको जानकारी दिए ।

कम्पनीले शतप्रतिशत रुपमा सबै जनतालाई आयोडिनयुक्त नुन पुर्‍याएको नायब महाप्रबन्धक ब्रजेश झाले जानकारी दिए ।

सो अवसरमा कम्पनीद्वारा स्थापित बालहितकारी पुरस्कार नेपाल बाल सङ्गठन धनगढी जिल्ला शाखालाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशि रु ५० हजारसहित प्रमाणपत्र रहेको छ ।

यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार कम्पनीमा कार्यरत अनुप श्रेष्ठ र काशीन्द्र श्रेष्ठ तथा ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार नवीन्द्रचन्द्र झा, मोहन थापा र लालबहादुर तमाङलाई प्रदान गर्नुका साथै कम्पनीमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका सदस्य एवम् आपूर्ति मन्त्रालयका सहसचिव आनन्दराज रेग्मी र आधिकारीक ट्रेड युनियनका अध्यक्ष मेघराज घिमिरेले भूकम्प र नाकाबन्दीमा कम्पनीले आम उपभोक्तालाई राम्रो सेवा दिएको चर्चा गरे । (रासस)