काठमाडौं, चैत २६ । आज चैत २६ गते । २०४६ सालमा आजकै दिन ३० वर्ष लामो निर्दलीय पञ्चायती शासन व्यवस्था अन्त्यको घोषणा भइ देशमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको थियो ।
नेपाली कांग्रेस र वामपन्थी पार्टीहरुले संयुक्तरुपमा आह्वान गरेको आन्दोलन चैत २६ गते शिखरमा पुगेपछि राजा वीरेन्द्रले पञ्चायती व्यवस्था खारेज गर्दै बहुदलीय प्रणाली अवलम्बन गर्ने घोषणा गरेका थिए ।
०४६ साल फागुन ७ गतेदेखि नेपाली कांग्रेस र वाममोर्चाले जनआन्दोलन सुरु गरेका थिए ।
आन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंह थिए भने कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सहाना प्रधान, राधाकृष्ण मैनालीलगायतका नेताहरु अग्रणी मोर्चामा थिए ।
आन्दोलनकाक्रममा चैत २४ गते हजारौं जनता राजदरबारतर्फ अगाडि बढेपछि सुरक्षाकर्मीले गोली चलाउँदै ठूलो हताहतीसमेत भएको थियो । आन्दोलनकाक्रममा दुई दर्जन बढीको सहादत भएको थियो ।
आन्दोलनकैबीचमा दरबारले तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरेको थियो ।
तैपनि आन्दोलन झन् चर्किएपछि राजा वीरेन्द्रले आन्दोलनकारी नेताहरुलाई दरबारमा बोलाएर सम्झौता गर्दै चैत २६ गते राति बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए ।
त्यसपछि कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार बनेको थियो भने संविधान निर्माणका लागि संविधान सुझाव आयोग गठन भएको थियो ।
आयोगले संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रसहितको राजनीतिक प्रणाली सुनिश्चित गर्दै संविधान बनाएको थियो । २०४७ कात्तिक २३ गते संविधान घोषणा गरिएको थियो ।
तर, केही वर्षयता भने चैत २६ को ऐतिहासिक दिन ओझेलमा पर्दै आएको छ । राज्यस्तरमामात्रै नभइ जनस्तरमा पनि उक्त दिनको उपलब्धिलाई सम्झने जाँगर गरेको पाइँदैन ।
अर्कोतर्फ ३० वर्षे पञ्चायती व्यवस्था खारेज गरी बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको पनि ३० वर्ष भएको छ ।
तर, राजनीतिक अधिकारबाहेक जनताको अपेक्षाअनुसारको परिवर्तन, सुशासन र विकास भने हुन नसकेको बताउँछन्, नेता राधाकृष्ण मैनाली ।
बहुदलीय प्रजातन्त्रभन्दा अघि बढेर मुलुकमा गणतान्त्रिक संघीय लोकतन्त्र नै स्थापना भइसकेको छ । तर पनि राजनीतिक नेतृत्वको व्यवहारमा तात्विक परिवर्तनको आभास जनताले गर्न पाएका छैनन् ।
न त जनताले महसुस गर्नेगरी सामाजिक, आर्थिक क्षेत्रमै परिवर्तन हुन सकेको छ ।









प्रतिक्रिया दिनुहोस्