बीपीका चेलालाई महेन्द्रका मतियारले प्रजातन्त्र सिकाउने ! • Image Khabar Image Khabar


बीपीका चेलालाई महेन्द्रका मतियारले प्रजातन्त्र सिकाउने !


Imagekhabar
२९ भाद्र २०७३, बुधबार १८:३०

बीपीका चेलालाई महेन्द्रका मतियारले प्रजातन्त्र सिकाउने !

हरिविनोद अधिकारी –

कुरो नेपालको राष्ट्रियताको र विदेश नीतिको । नेपाललाई एउटा परिवारबादबाट वा राणा शासनबाट मुक्ति दिलाउन भनौँ स्वतन्त्र गराउन धेरै परिवारहरु नेपालबाट विस्थापित भए, हराए , मारिए र कतिलाई सार्वजनिकरुपमा नै मारियो । लखेटियो । धपाइयो । ती प्रवासमा बस्नेहरुको नेपालका प्रतिको माया सायद यहाँ बसेर नेपालको माया गरेभन्दा अझ बढी नै अनुभूत गरिँदो हो । आमाको माया त उस्तै हो तर नेपाललाई नै उत्पीडनबाट मुक्ति दिलाउँछु भनेर लाग्नेको माया अलि बढी नै उजागर भएको हुँदोरहेछ । नेपाललाई परिवारवादको उल्पीडनबाट मुक्ति दिलाउँछु भनेर सशस्त्र संघर्ष गर्दै बरु राणाको ठाउँमा परम्परावादी तर संवैधानिक राजाको नाममा सँसदको शासन नै चलाउने भनी नेपालको शासन प्रणालीलाई नयाँ तरिकाले चलाउनका लागि जसले त्याग ग¥यो, त्यो भन्दा ठूलो राष्ट्रवाद नेपालमा न त्योभन्दा पहिले देखियो, न त्यस्को कुनै उदाहरण त्यसपछि देखिएको छ । नेपालको मात्र माया र एउटा विकसित तर प्रजातान्त्रिक नेपालको मात्र जपना, कल्पना र उद्देश्य बोकेको दल । त्यो भनेको आधुनिक नेपालमा नेपाली काँग्रेस नै थियो र छ पनि । यसको कुनै विदेशी नेता पनि थिएन र अहिले पनि छैन । यसका लागि आधुनिक र विकसित विश्वव्यापी प्रजातान्त्रिक सिद्धान्त सदैव अभ्यासका चिन्तन भएका छन् । सबल राष्ट्रियताका पृष्ठभूमिमा अन्तराष्ट्रिय सम्बन्ध विकसित गर्ने लक्ष्य राखेको नेपाली काँग्रेसलाई अहिले राष्ट्रियता, असंलग्नता र कूटनीतिका वारेमा त्यस्ताले अर्ती दिएको पाइन्छ जो कहिल्यै पनि कुनै निश्चित धारणासँग आफूलाई उभ्याएको छैन । जहिले पनि ढुलमुले अवसरवादको पृष्ठभूमिमा र त्यस्ता आचरणलाई नै नीतिको जामा पहि¥याएर हिँड्ने बानी परेकाले विशुद्ध प्रजातन्त्रवादीलाई प्रजातन्त्रको आचरण सिकाउने अनि सदैव एकतर्फी धारणालाई मात्र विदेश नीतिको जामा लगाउनेले प्रजातन्त्रवादीलाई विदेश नीतिको अवधारणा दिन खोज्ने देख्दा हाँसो उठ्छ ।

अझ के पनि देखियो भने पञ्चायतकाललाई नै आदर्शको समय मान्दै अनुपम उदाहरणीय बेला ठान्दै तिनैसँग साँठगाँठ गाँस्दै अहिले लोलीमा बोली मिलाउँदै विदेश नीतिलाई विद्रूप बनाइएको पाइयो । अनि उनैको इसारामा जे भन्दछन् त्यसै गर्नका लागि दबाब दिएको पो देखियो ।जर्मनीमा अहिले पनि नाजीका सन्तान भनेपछि घृणाको पात्र मानिन्छ । नाजीलाई सहयोग गरेर श्रम शिविरमा मानिस मार्नेहरु अझै कि त लुकेर मरिसके, या अझै पनि कतै अवशेष बाँकी भए मुद्दा चलाइँदैछ । तर नेपाल नै यस्तो देश भयो संसारमा कि उसले पञ्चायतका नाममा जिउँदै जलाउनेहरुलाई मुद्दा चलाउने त कता हो कता, उल्टै केही समयपछि सत्ताको साँचो बुझाएर आफैँमाथि सत्ता गर्न निम्ता दिएको इतिहास छ । अहिले तिनै पञ्चायतकालीन असफल नीतिकारहरुको , चाटुकारहरुको बोलबालामा नेपाल जकडिएको छ । बारम्बार तिनै सरकारमा रातो कार्पेट विछ्याएर ल्याइन्छन् र उनीहरुले दिएको अर्ती सुनेर आन्तरिक तथा बाह्य नीतिका वारेमा निर्णय गर्नु पर्ने दबाब आइरहन्छ ।

नेपाली काँग्रेसले आफ्नो मात्र सत्ता चलाएको बेला भनेको १८ महिना बीपीकालीन समय, ३८ महिना जीपीकालीन समय, ४० महिना केपीकालीन, जीपीकालीन र एस्बीकालीन समय हो । यी तीनकालमा के नेपालको राष्ट्रियतामा कतैबाट आँच आएको थियो र ? बीपीकालीन समय त झन नेपालको सार्वभौमसत्ताको सर्वोपरि स्वाभिमानी समयको रुपमा इतिहासविदहरुले इँगित गरेका छन् । नेपालको सम्बन्ध विस्तारका साथै नेपालसँग भारत र चीनको अत्यन्त मिठो सम्बन्ध रहेको बेला मानिन्छ । त्यतिमात्र होइन, तत्कालीन प्रधानमन्त्री बीपीलाई भारतसँग भन्दा चीनसँग बढी घनिष्टता राख्ने नेताको रुपमा लिइँदो रहेछ । तर अहिले प्रमुख प्रतिपक्षलगायत पुराना पन्चहरुसमेतले नेपालको राष्ट्रियताका वारेमा नेपाली काँग्रेसलाई शङ्का गर्दैँ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा धेरै अर्ती उपदेश र सतर्क हुनका लागि चेतावनीसमेत दिएको पाइयो । प्रमुख प्रतिपक्षी एमाले आफैँ पन्चको लहै लहैमा लागेर सम्बन्ध बिगार्ने अनि अरुले सपार्ने भए भनेर किन डराउने ? बरु एमालेले आत्मालोचना गरोस् हिजोका दिनमा विदेशमा सम्बन्ध बनाउने जस्तो संवेदनशील कुरामा महेन्द्रका मतियारलाई किन राखिएछ ?संघीयता कार्यान्वयन गर्ने जस्तो ठाउँमा संघीयता विरोधी पन्चका अवशेषलाई किन राखिएछ सरकारमा भनेर ।

धर्म निरपेक्षता विरोधी, संघीयताका विरोधी , गणतन्त्रका विरोधी, संविधानका विरुद्धमा मतदान गरेकालाई संविधान कार्यान्वयनको मुख्य हिस्सेदार बनाई सरकारको प्रमुख अङ्ग जस्तै बनाउँदा  बिग्रेको आन्तरिक र वाह्य सम्बन्ध अब बीपीका सैद्धान्तिक उत्तराधिकारीले सच्च्याउने छन् र मुलुकलाई एउटा प्रजातान्त्रिक मुलुकको रुपमा बिकसित गर्नेछन् ।
बीपीका चेलाहरुलाई कसैले पनि राष्ट्रियता सिकाउनु पर्दैन भनेर केही दिन अघि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पूर्व उपप्रधानमन्त्री एवँ रक्षा मन्त्री भीम रावललाई दिएको जबाफ अब डाक्टर प्रकाशशरण महतले दिने बेला भएको छ कि नेपालको सार्वभौमसत्तालाई एउटा राणा वा शाहको परिवारबाट जनताको नाममा बारम्बार लडेर ल्याउने काँग्रेसलाई कस्तो परराष्ट्र नीति भए नेपालको हित हुनेछ र नेपालको असँलग्नता पनि जोगिने र नेपालको लोकतान्त्रिक छवि पनि विश्वभर फैलिने छ भन्ने कुरा कसैले सिकाउनु पर्दैन ।

साम्यवादको घोषणापत्रमा कहाँ प्रजातन्त्र अटाउँछ ? यो भ्रम हो कि यथार्थ ? त्यसैले काँग्रेसका समर्थनले प्रजातन्त्रवादी हुने अनि काँग्रेसभन्दा ठूलो प्रजातन्त्रवादी हुने मनोरोगबाट ग्रसित हुन कसैलाई पनि सुहाउँदैन । नेपाललाई भारत र चीनमध्ये  कसैको दास बनाउने भन्दा समदूरी तर प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याउने काम काँग्रेसले गर्नुपर्दछ । यदि पन्चका बुद्धिले यो देश चल्थ्यो भने पन्चायत भन्ने उद्देश्यहीन राजनीतिक प्रणाली नेपालबाट उन्मूलन भएको पनि २६ वर्ष पुग्दैन थियो र नेपाललाई सदैव नेपालीको लागि भन्दा परिवारका लागि मात्र बिर्ता ठान्ने राजतन्त्र पनि उखेलिएको ८ वर्ष भइसकेको हुँदैनथ्यो होला ।

त्यसैले बीपीका चेलालाई महेन्द्रका मतियारहरुले राष्ट्रियता ,राष्ट्रिय नीति, आन्तरिक सुरक्षा, परराष्ट्र नीति अनि प्रजातान्त्रिक संविधानको कार्यान्वयनका वारेमा धेरै सिकाउनु पनि पर्दैन होला र नेपालका वारेमा गोहीका आँसु धेरै बगाउनु पर्दैन होला किनभने नेपालीले सबैका वारेमा चिना टिप्पणी उतारेर बसेका छन् ।

बरु प्रजातन्त्रका पक्षमाभर्खरै जस्तो देखिन थालेका नयाँ प्रजातन्त्रवादीहरुले प्रजातन्त्रको अभ्यासका वारेमा सल्लाह र सहमतिमा काँग्रेससँग सहकार्य गरे बेसै होला । आज जनताको पक्षमा , जनताको जनादेशबाटमात्र साम्यवादको उदाहरणीय शासन प्रणाली संसारमा कहाँ छ ? अनि जहाँ साम्यवादी व्यवस्था छ , तिनले कहाँ असँलग्न र समानुपातिकरुपमा जनतालाई अधिकार दिएका छन् ? कहाँ छ आवधिक निर्वाचन केन्द्रीय शासनमा ?

मुलुक धेरै अगाडि बढेको भए पनि दण्डहीनताका कारणले पुराना राजनीतिक अपराधीहरुको बिगबिगी बढेर प्रजातन्त्रवादीहरुलाई प्रजातन्त्रका परिभाषा र सिद्धान्त सिकाउने धृष्टता गर्न सकेका हुन् । अनि तिनैलाई काँधमा बोकेर परिवर्तनकामीहरुलाई निषेध गर्ने र निरुत्साहित गर्न पल्केकाहरुको नकाब खोल्न नसकेर पनि  यो प्रवृत्ति बढेको हो । के यसमा अहिलेका परिवर्तनका वाहकहरुले ध्यान देलान् आत्मालोचनासहित ? पश्चाताप गर्दै ?  

प्रतिक्रिया दिनुहोस्