४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


‘सगरमाथाको नाम जुनसुकै भाषामा सगरमाथा नै राखौं’


0
Shares

                                                             फाइल फोटो
काठमाडौं, भदौ २९ । व्यवस्थापिका–संसदको बुधबारको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको सफलताको कामना गर्दै विभिन्न जिल्ला अस्पतालमा चिकित्सक र औषधिको व्यवस्था तथा भूकम्पपीडितको आवासको लागि अनुदान रकम वितरण कार्यलाई तीव्रता दिन माग गरेका छन् ।

शून्य समयमा पहिलो वक्ताकोरुपमा सांसद बलराम अधिकारीले प्रधानमन्त्रीले भारत भ्रमणकाक्रममा राष्ट्रको आवश्यकता र जनताको भावनाअनुरुप आफ्ना समकक्षीसँग कुरा राख्न सुझाव दिँदै रासायनिक मल सबै नाकाबाट नेपाल भित्र्याउन सकिने व्यवस्था गर्न माग गरे ।

सांसद भक्तबहादुर विश्वकर्माले परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना कुटनीतिक नियोगको नाम राख्दा ‘नेप्लिज’को साटो ‘नेपाली’ राख्ने कार्य राम्रो भएको भनी प्रशंसा गर्दै सगरमाथाको नाम पनि जुनसुकै भाषामा सगरमाथा नै राख्न सरकारलाई सुझाव दिए ।

सांसद भरतकुमार शाहले प्रधानमन्त्रीको भारत भ्रमणको सफलताको कामना गर्दै आगामी दसैंमा सहरबाट आफ्नो स्थायी घर जान चाहने सर्वसाधारणका लागि यातायातको राम्रो प्रबन्ध मिलाउन सुझाव दिए ।

‘भारतका विभिन्न स्थानमा रोजगारी गरेर दसैंको छुट्टीमा नेपाल आउँदा सीमानाकामा भारतीय सीमा सुरक्षा बलले दुःख दिने घटना प्रत्येक वर्ष हुने भएकाले प्रधानमन्त्रीले भारत भ्रमणमा रहँदा यो विषयलाई प्राथमिकताका साथ उठाउनुपर्छ’–उनले भने ।

सांसद भवानी खापुङले तेह्रथुमको हेल्थपोस्टमा आवश्यक दरबन्दी र औषधिको व्यवस्था गर्न सदनमार्फत् सरकारको ध्यानाकर्षण गराइन् ।

अर्का सांसद भेषकुमारी रावल भट्टराईले उपदपुरको कटारी र गाईघाट अस्पताल व्यवस्थित गर्न माग गरिन् ।

सांसद भुटनीदेवी खवासले महिला स्वयंसेविका कार्यबोझका कारण धेरै नै मारमा परेको हुँदा उनीहरुलाई सुविधा थप्न र संख्या बढाउन माग गरिन् ।

सांसद ममतादेवी गिरीले सुदूरपश्चिम क्षेत्रका सीमानजिकका गाउँमा भारतीय सीमा सुरक्षा बल र भारतीय नागरिक नेपाली बस्तीमा पसेर अत्याचार गर्दै आएको हुँदा त्यस्ता घटनालाई रोक्न सरकार चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिइन् ।

सासद मीठू मल्लले प्रधानमन्त्रीको भारत भ्रमणको सफलताको कामना गर्नुका साथै रुकुम जिल्ला अस्पतालमा विशेषज्ञ महिला चिकित्सक र औषधिको व्यवस्था गर्न माग गरिन् ।

सांसद यज्ञराज सुनुवारले भूकम्पपीडितलाई आवास सुविधा दिने कामलाई तीव्र तुल्याउन सुझाव दिए । रासस