
काठमाडौं, भदौ ३० । कृषिबाली व्यवसाय प्रबद्र्धन संस्थाले अलैंची, सुपारी र अदुवाको उत्पादकलाई नै उत्पत्तिको प्रमाणपत्र (सीओ) जारी गर्न दिन माग गरेको छ ।
अलैंची, सुपारी, अदुवा, लसुन, स्याउलगायतका कृषिजन्य नगदेबाली खेतीका कृषकहरुको जीवस्तर उकास्ने दाबीसहित हालै स्थापना भएको संस्थाले किसानले नै सीओ जारी गर्न पाउनुपर्ने माग गरेको हो ।
संस्थाले विहीबार राजधानीमा पत्रकार सम्मेलन गरी उत्पादकले जुन नाकाबाट वस्तु निर्यात गर्न चाहन्छ, सोही नाकाबाट निर्यात गर्न पाउनुपर्ने माग पनि राखेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र घिमिरेले नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुको आयातमा रोक लगाउनुपर्ने बताए ।
अदुवाको कार्यविधिमा वस्तुगत संघको सदस्य र पाँच वर्ष अनुभव हुनुपर्ने भन्ने संस्था पहिचानको शर्तले कुनै एक संस्थालाई एकाधिकार दिएको र सिन्डिकेट भएको आरोप संस्थाले लगाएको छ ।
सुपारी, अदुवा, स्याउ, लसुन र अलैंचीलगायत कृषिजन्य निर्यातयोग्य वस्तुहरु सहजरुपमा निर्यात हुने वातावरण बनाउन पनि संस्थाले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्