प्रचण्ड र ओलीबीच तुलना • Image Khabar Image Khabar


प्रचण्ड र ओलीबीच तुलना


Imagekhabar
३१ भाद्र २०७३, शुक्रबार १५:०४

प्रचण्ड र ओलीबीच तुलना

पेशल आचार्य – केही राजनीतिक विश्लेषकहरूले भनेका छन् –‘ओलीको उखान धेरै प्रचण्डको बखान धेरै । यो एक वर्षमा देशले दुवै प्रधानमन्त्रीबाट धेरै पाएको भनेको सस्तो आश्वासन मात्र हो ।’ ओली पदासीन नहुँदै नाकाबन्दीको माकुरी जालमा परे । प्रचण्ड सत्तासीन हुँदा संविधान संशोधन र कार्यान्वयनको चुनौती साथै भूकम्पीय ऋण दिने सुनामीको चक्रमा फँसेका छन् ।

दुवै सहज समयमा प्रधानमन्त्री भएका भने छैनन् । आफूले दिएको समर्थन फिर्ता लिएर काँग्रेससँग गठबन्धन गर्दै प्रचण्ड प्रधानमन्त्री भए । जब कि ओलीलाई प्रधानमन्त्रीमा प्रचण्डले नै प्रस्ताव गरे । ओली प्रधानमन्त्री भएपछि भारत रिसायो । प्रचण्ड भएपछि भने भारत आफूमा लागेको ‘ठूलो भैयाको दाग’ भारतीय ‘सर्फ एक्सल’ ले धुन खोज्दैछ । ओलीले राष्ट्रवादको ‘नयाँ ज्याकेट’ लगाएर राष्ट्रियताको राम्रै ‘क्याटवाक’ गरे भने प्रचण्ड छिमेकी खुसी पार्न आफू प्रधानमन्त्री भएलगत्तै भारत र चीन दुवै देशमा ‘दूत’ पठाएर मारूनी नाँच्न खोज्दै छन् । नेपालमा ‘छिमेक चिन्तन’ सदियौंदेखि हावी छ । यो सबै नेपालीलाई थाहा छ ।

नेपाली राजनीतिमा छिमेकी चासो घनिभूत हुँदै आएको छ । नभनिएको मात्र हो, ओली सत्ताको भरेङ् उक्लिँदा पनि थियो अहिले पनि देखियो । भलै ओलीसँग मोदीको ‘जल चिन्तन’ मा टकराब भयो । जसको मूल्य नेपालीले दैनिक जीवनमा सकस भोगेर बिताए । समयको घडी घुम्यो । ओली भूपू भए । प्रचण्ड वर्तमान प्रधानमन्त्रीको विशेषणमा आए । फेरि घडी घुम्दै छ, प्रचण्ड भूपू हुने दिन आउनेछ र अन्य कोही वर्तमान विशेषणमा प्रधानमन्त्री हुने छन् । ट्रयाकमा देउवा वा अरू कोही हुन सक्छन् ।

ओली र प्रचण्ड दुवैमा मिल्ने भनिएको दुवै लेफ्टिस्ट हुन् । दुवै हतियारको राजनीति गर्दै उदाएका नेता हुन् । ओलीले झापा काण्डबाट आफ्नो राजनीति श्रीगणेश गरे । प्रचण्डले जनयुद्धमार्फत् । ओलीले अठ्ठाइस सालमा उति धेरै मानिस मारेनन् तर पञ्चायत कालमा हतियार उठाएका हुनाले चर्चित भए । ओली देशभित्रै भूमिगत भए भने प्रचण्डले धेरै समय भारतमा आफूलाई सेफ गरे । प्रचण्डले ‘जनयुद्ध’ का नाममा करिब १७ हजार मानिस मारे । शततः चर्चित भए ।

दुवैमा अर्को पनि समानता छ –हतियारको पाइन् माइनस गर्दिने हो भने यी दुवै ‘कम्युनिष्ट नेता’ मात्रै लाग्छन् । दर्शनमा दुवै नूतन नभएर पुरातन सोचका छन् । वर्ग–जाति भनिएका संकथनहरू राजनीतिक भरेङ् मात्रै हुन् । पृथक् त केवल पहिला सफ्ट लाइनर र दोस्रा हार्ड लाइनर हुन् । नेपाली संसदीय राजनीतिमा दुवैको कद र काँठी एउटै लाग्छ । अनि दुवै ‘राजनेता’ हुन नसकेका राजनीतिज्ञ र केवल आकांक्षी प्रधानमन्त्री मात्र हुन् । दुवैलाई भूपू प्रधानमन्त्री भएर इतिहासमा नाम दर्ज गराउने अतीव लालसा देखिन्छ । विशुद्ध जनताका नजरबाट हेर्दा पढिएको इतिहास ‘एलिट गाथा’ मात्र हो ।

सोबाहेक दुवैमा ओली प्रचण्डभन्दा केही राजनीतिक भोटा धेरै फटाएका नेता हुन् । अर्कोतर्फ ओलीभन्दा प्रचण्डको चेहरामा अलि बढी ‘सेक्स अपिल’ पढ्न सकिन्छ । ओलीले दौरासुरुवाललाई नै महत्व दिए भने प्रचण्डले सुट । प्रचण्डलाई पार्टीगत भित्री चिन्ता भएपनि भाषण गर्दा जोडले कुम हल्लाएर भाषण गर्दछन् । ओलीमा नाके स्वरमा विपक्षीलाई भित्तै पु¥याएर वचनवाण हान्ने असिम तागत छ । प्रचण्ड घुमाउरो रैखिक शैली  अँगाल्छन् । ओली निःसन्तान हुन् भने प्रचण्डका चार सन्तान छन् । एकमात्र छोरा प्रकाश बेलाबखत विवाद्का घेरामा तानिइरहन्छन् । ओली बालकोटको घरमा बस्छन् भने प्रचण्डको आफ्नो नभनिए पनि लैनचौरमा ‘आलिसान महल’ छ ।

खुला समाज छ –नेपालमा । नेपालीहरूले पनि संसार देखेभोगे । जसले संसार देख्न पाएका छैनन् तिनेरूले टेलिभिजन र इन्टरनेटबाटै संसार चिहाएका छन् । देख्नु त एउटै हो । दुवैमा आँखा चाहिन्छ । प्रत्यक्ष देख्दा अलि बढी खुलस्त होइन्छ । अहिले नेपालीका हातहातमा एन्ड्रोइड मोबाइल फोन र अनेक आधुनिक एप्स सुविधाहरू छन् । परिवारमा विदेश नजाने नेपाली कोही छैनन् । पचासौं लाख नेपाली यतिखेर विदेशमा बस्छन् । यो तथ्याङ्कमा भारतीय नेपालीको संख्या समावेश छैन ।

खाने, बस्ने, बोल्ने, सोच्ने र देश वा विदेशको कुनै पनि घटना विश्लेषण गर्ने नेपालीको शैली फेरिएको छ । अहिले कसैले कसैलाई मिनिमाइज गर्न सक्दैनँ । सबै समान छन् किनकि देशले चाहेको लोकतन्त्रिक गणतन्त्र छ । लोकतन्त्रका लागि ओली र प्रचण्ड फरकफरक कित्तामा भए पनि लडेका हुन् । दुवैको योगदान छ ।
    यी त भए लेफ्टबाट हेरिँदा अर्थात् सेन्टर लेफ्ट दृष्टिकोण तर सेन्टर राइटबाट हेर्ने हो भने काँग्रेसले यी दुवै पार्टीभन्दा पहिले नै सात सालमै राणाविरुद्ध हतियार उठाएको हो । नेपालका राजनीतिक पार्टीका आङ्कडामा नजर लगाउने हो भने सेन्टरराइट भन्दा सेन्टरलेफ्ट चिन्तन भएका पार्टीहरू सत्तामा पनि र सत्ताबाहिर पनि बढी देखिए । भलै नेपाली काँग्रेसले छयालीस सालपछि सबैभन्दा बढी सत्ता सञ्चालनको अवसर भने नपाएको होइन । भोटका मात्रामा काँग्रेस हिजो र आज पनि वेगवाहिनी नदीका रूपमा चलायमान छ । कम्युनिष्टहरू विगत् र वर्तमान दुवैमा खहरे शैलीमा सामुद्रिक यात्रा गरिरहेका छन् । विगत् दुई दसकको कुरा माओवादी गएको दस वर्षमा पाँच चिरामा चिरियो । पावर एक्सर साइजका मामलामा युद्ध कालमा त्रासद्, संविधान सभाको पहिलो निर्वाचनमा पहिलो र दोस्रो निर्वाचनमा तेस्रो शक्तिमा खुम्चियो । बाँस पातलो भएरै नुहुन्छ तर उत्तिस मोटो भएर पनि भाँचिन्छ ।

राजनीतिक आन्दोलनमा सात, सत्र, छयालीस र बासठ्ठी त्रिसठ्ठीसम्म आइपुग्दा पनि काँग्रेसले लिड गरेकै हो । वामपन्थीहरू सेन्टर राइटकै पछि लागे । यी सबै आन्दोलनमा भारत र चीनको देखिने नदेखिने दुवै खाले सहयोग पार्टीहरूले लिए । अब सत्ताको चाबी हात पार्न पनि यी पार्टीहरू कहिले उत्तराभिमुख र कहिले दक्षिणाभिमुख भएर एकर्कामा छिर्के हानिरहेका छन् । संविधानरूपि इन्जिनमा संशोधनको ‘ग्रिज’ नहालेर जाम छ । कतै इन्जिनै ‘सिज’ नहोओस् ! नेता नारायणकाजी श्रेष्ठका शब्दमा –‘कि शैली बदलौं, नत्र प्रणाली नै फेल हुनसक्छ ।’जनता भन्छन् –‘मुलुकको एकदसक जनयुद्धले लग्यो । अर्कोदसक संविधान निर्माणमा लाग्यो । अबको यो दसक संविधान कार्यान्वयनमा नै लाग्ने हो भने हामीले सुखका दिन देख्न पाउने कहिले ?’

विकासे अभियन्ता भन्छन् –‘राजनीतिक आन्दोलन सकियो । अब विकासका आन्दोलन थाल ।’ तर नेपालमा क्रियाशील सबै पार्टीहरू यो वा त्यो बहाना र बखेडा झिक्दै अझै आन्दोलन कै रिहर्षलमा अनावश्यक बिजी देखिए । पछिल्लो माहौलमा मधेशवादी दल देखिएका छन् ।

यस्तै तालमा रतेउली नाचिरहने हो भने संविधान कार्यान्वयनका सवालमा, संघीयता लागू गर्ने सवालमा, सुशासनका सवालमा र भूकम्पबाट पीडित भएकाहरूका सवालमा हिजो ओलीको सरकार पनि गुजुल्टिएको धागोको टुप्पो केलाउन मै अल्मलियो । आज प्रचण्डको सरकार पनि त्यसमै रुमल्लिने हो भने जनताले चाहेको चौतर्फी विकास, हंशमुख सुशासन, तिघ्रे सिण्डीकेटको नामेट, स्वास्थ्य र शिक्षामा माफिया गिरीको अन्त्य र सहज जीवनयापन गर्ने आम सपना आउँदा दसकभित्र पनि सुल्झिने छैनन् । बरू बल्झिइरहने छन् ।

ओलीका पालामा डा. गोविन्द केसीको माग सुनुवाइ भएन । आज प्रचण्डका पालामा पनि सुनुवाई नभएर उनी नवौं पटकको अनसन थाल्दैछन् । आम नेपालीले चाहेको सहज र सकसहीन जीवनयापन हो । नत्र नेपाली मानसिकताले अर्को चरणको द्वन्द्व र बगावत नगर्ला भन्न सकिन्नँ । पुरानो नेपाली भनाइ छ –बिरालालाई झ्यालढोका थुनेर कुटियो भने त्यसले मान्छे कै घिच्रो फोड्छ ।  
                

प्रतिक्रिया दिनुहोस्