४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


महिला संघमा नयाँ नेतृत्वका लागि आज निर्वाचन


0
Shares

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ ।

काठमाडौंमा जारी तेस्रो महाधिवेशनका क्रममा शुक्रबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको हो । कार्यसमितिका ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १ सय २६ गरी १ सय ३३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

संघको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित तीन, जनजाति तीन, मधेसी तीन र मुस्लिम एक पदमा निर्वाचन हुँदैछ ।

दुईवर्षे कार्यकालका लागि हुने निर्वाचनमा मीना पाण्डे र उमा रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

महासचिवमा किरणकुमारी सरकार, गोमा केसी र धन खतिवडाको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा जानकीदेवी सिंह र कुसुमदेवी थापा प्रतिस्पर्धा गर्दै छन् ।

महाधिवेशनमा २ हजार १६५ प्रतिनिधिले भाग लिएका छन् ।

महाधिवेशनमा प्रान्तीय संरचनाअनुसार ५६ सदस्यका लागि निर्वाचन हुनेछ । विद्युतीय मतदान यन्त्रबाट मतदान हुने भएकाले शुक्रबार बेलुकासम्म मत परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।