
काठमाडौं, भदौ ३१ । नेपालीहरुको महान् पर्व बडादसैं सुरु हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा लामो तथा छोटो दूरीका सवारी–साधनकोे टिकट बुकिङ सुरु हुन सकेको छैन ।
यातायात व्यवसायी महासंघले विभिन्न समस्या देखाउँदै टिकट बुकिङ खुला नगरेको हो ।
आगामी असोज २ गते सरकारसँग कुरा गरेरमात्रै टिकट बुकिङ खोल्ने/नखोल्ने निर्णय गर्ने यातायात व्यवसायी महासंघका कार्यकारी अध्यक्ष दोलनाथ खनालको भनाइ छ ।
अर्कोतर्फ दसैंमा घर जानका लागि बसको काउन्टरमा टिकट बुकिङ गर्न पुगेका यात्रीहरु योपटकको दसैंमा पनि सहजरुपमा सवारी–साधन नपाइने हो कि भन्ने चिन्तामा परेका छन् ।
निर्माणाधीन अवस्थामा रहेको नारायणगढ–मुग्लिङ सडकखन्डमा दिनहुँ हुने जामका कारण दसैंका लागि निकै समस्या हुने यातायात व्यवसायीहरुको भनाइ छ ।
त्रिपुरेश्वर–नागढुंगा सडकखन्ड पनि निर्माणको चरणमा रहेकाले समस्या रहेको उनीहरुको भनाइ छ ।
दसैंमा हरेक वर्ष करिब २० लाख मानिसले राजधानी छाड्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्