Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


जनतासँग माफीसम्म पनि माग्न सकिन्नः प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनतासँग क्षमा माग्ने परिस्थिति पनि सकिएको बताएका छन् ।

नेपाल उद्योग परिसंघको १२ औं वार्षिक साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै उनले जनताले काम गर्नका लागि सबै अनुकूलता सृजना गर्दिसकेकाले अब कुन मुखले माफी माग्न जाने भन्दै प्रश्न गरेका हुन् ।

‘बहुमत नुहँदा मुलुकमा अस्थिरता भयो भनियो, जनताले बहुमत दिए । राजनीतिक स्थायित्व पनि दिए । अब पनि केही गर्न नसके जनताका अघिल्तिर के मुख लिएर जाने ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

अरुलाई दोष दिएर पानी माथिको ओभानो हुन कोही पनि नसक्ने भन्दै ओलीले जनतासँग क्षमासम्म माग्ने अवसर पनि गुमाइसकिएको बताएका हुन् ।

ओलीले जनता निराश बन्दै गएको स्वीकार्दै प्रधानमन्त्री ओलीले उनीहरुको मनोवल बढाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने जोड दिए ।

विकासको लागि आ–आफ्नो ठाउँबाट नेतृत्व गर्न उनले राजनीतिज्ञ, प्रशासक, व्यवसायी, उद्योगीलगायतलाई आह्वान पनि गरे ।

अहिले असन्तुष्टि व्यक्त गर्ने समय नभएको भन्दै ओलीले सबैलाई आ–आफ्नो ठाउँबाट मुलुकको विकासमा समर्पित भई योगदान गर्न आग्रह गरे । मुलुकमा लगानीको वातावरण भएको जिकीर गर्दै प्रधानमन्त्री ओलीले ढुक्क भएर लगानी गर्न व्यवसायीहरुलाई अपील पनि गरे ।

कर तिर्ने र पारदर्शी रुपमा व्यवसाय गर्ने वातावरण सरकारले बनाएको भन्दै ओलीले ठग्ने र कर नतिर्ने व्यवसायीलाई भने उम्कन नदिने, कारवाही गरेरै छाडिने दृढता देखाए ।

विदेशी लगानी सहज छैन : व्यवसायीहरु

उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, पूर्व अध्यक्ष विनोद चौधरीले कानुनी र व्यवहारिक जटिलताका कारण विदेशी लगानी सहज नभएको बताए ।

वित्तीय घाटा ६ दशमलव ५ प्रतिशत रहेको, व्यापार घाटा बढ्दै गएको, आयात बढ्ने र निर्यात दर घट्ने भएको भन्दै उनीहरुले संरचनागत समस्याका कारण अर्थतन्त्रमा चुनौति थपिएको बताए ।

कार्यक्रममा निर्यात क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुलाई सम्मानित गरिएको थियो । साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्ने छ ।