काठमाडौं, चैत २५ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरुको बैठकले कुनै निर्णय लिन सकेन ।
सोमबार सभापति देउवाको निवास बूढानिलकण्ठमा बसेको बैठकमा कार्यसम्पादन समिति र गठन हुन बाँकी रहेका विभागका विषयमा छलफल भएपनि बिनानिष्कर्ष टुगिंएको हो ।
बैठकमा कार्यसम्पादन समिति गठनमा सहमति बन्न नसकेकाले तत्काललाई यो विषय थाती राखी विभागहरु गठन गर्ने प्रस्ताव उनले गरेका थिए ।
कांग्रेसको विधानमा २९ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने प्रावधान रहेको छ ।
सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आफ्ना पक्षको नाम दिन आग्रह गरेका थिए । तर, पौडेलले भने त्यसमा निर्णय लिएनन् ।
सभापतिले नाम मागेपनि विभाग गठनका विषयमा निष्कर्ष निस्कन नसकेको बैठकपछि नेता पौडेलले जानकारी दिए ।
गुटगत राजनीतिमा फसेको कांग्रेसभित्रको कलह एकपछि अर्को गर्दै झागिँदै गएका बेला बोलाइएको नेताहरुको बैठकले कुनै निर्णय गर्न नसकेको हो ।
महाधिवेशन भएको वर्षौसम्म पनि बनाउन नसकिएको केन्द्रीय कार्यसम्पादन समिति फेरि पनि गठन गर्न नसकिएको हो ।
कृष्ण सिटौलाको विरोध
सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच ६०/४० प्रतिशतका आधारमा समिति बनाउन सहमति जुटेपनि अर्का नेता कृष्ण सिटौला विरोध गरेकाले यो विषय अनिर्णित भएको हो ।
सभापति देउवाले केन्द्रीय समितिको बैठकमा नाम प्रस्ताव गर्नुपूर्व सहमति खोज्न बोलाएको नेताहरुको बैठक पूर्वमहामन्त्री सिटौलाले भने बहिस्कार नै गरिदिए ।
केन्द्रीय समितिपछिको शक्तिशाली निकाय कार्यसम्पादन समिति गठनमा आफ्ना मानिसहरु राख्न कांग्रेसमा नेताहरुबीच गुटैपिच्छेको स्वार्थ देखिन्छ ।
कार्यसम्पादन समिति बनाउन सभापति देउवा र नेता पौडेलले भागबन्डा गरेपनि आफूलाई बेवास्ता गर्न खोजेको भन्दै सिटौला असन्तुष्ट बनेका हुन् ।
नेताहरुबीचमा कुरा नमिलेकै कारण शनिबार बोलाइएको केन्द्रीय समिति बैठक नै हुन सकेको थिएन ।
सिटौलाले २९ सदस्यीय कार्यसम्पादन समितिमा आफूले दुई सदस्य पाउनुपर्ने अडान राखेका छन् भने देउवा र पौडेल सिटौलालाईमात्रै राख्न सहमत भएका छन् ।









प्रतिक्रिया दिनुहोस्