Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


आमाले धरौटी तिर्न नसकेपछि ६ वर्षीय बालक जेलमा


0
Shares

काठमाडौं, असोज ३ । मानव बेचविखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएकी एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा ६ वर्षीय छोरासहित जेलमा बस्न बाध्य भएकी छिन् ।

नवलपरासी कावासोती घर र लमजुङको बिचौर माइती बताउने ३५ वर्षीय सुकमाया मिजारसँगै उनका ६ वर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य बनेका हुन् ।

लमजुङ जिल्ला अदालतले २०७३ भदौ ८ गते उनीमाथि लागेको मानव बेचविखन तथा ओसारपसार मुद्दामा २० हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएको थियो । उक्त रकम जुटाउन नसकेपछि उनी छोरासहित जेल परेकी हुन् ।

‘घरमा पनि आउने बाटो केही छैन,’ उनले भनिन्, ‘त्यति ठूलो रकम कसरी जुटाउने ?’ उनले आफूले कुनै अपराध नगरेको तर कानुन मान्न तयार रहेको बताइन् ।

आमासँगै जेलमा बस्दा सुजनको पढाइ प्रभावित भएको छ । ‘छोराको बारेमा चिन्ता छ,’ उनले भनिन्, ‘पढ्ने बेला छोरालाई आफूसँगै जेलमा राख्नुपर्दा ज्यादै चिन्तित छु ।’

बालबालिकालाई जेलमा राख्न नपाउने प्रावधान भए पनि उनको उद्धारको लागि बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायबाट भने खासै चासो देखाइएको छैन । -अन्नपूर्ण पोस्ट दैनिकबाट