Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


कांग्रेस–कलहः देउवाले बोलाए नेताहरुको बैठक, सिटौला गएनन्


0
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको कलह एकपछि अर्को गर्दै झागिँदै गएको छ ।

महाधिवेशन भएको वर्षौसम्म पनि बनाउन नसकिएको केन्द्रीय कार्यसम्पादन समिति गठनबारे फेरि अर्को रडाको देखिएको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रमचन्द्र पौडेलबीच ६०/४० प्रतिशतका आधारमा समिति बनाउन खोजेपछि अर्का नेता कृष्ण सिटौला विरोध जनाएका छन् । नेताहरुबीच कुरा नमिलेकै कारण सभापतिले बोलाएको केन्द्रीय समितिको बैठकसम्म बस्न सकेको छैन ।

केन्द्रीय समितिको बैठकमा नाम प्रस्ताव गर्नु पूर्व सहमति खोज्न भन्दै सभापति देउवाले आज बोलाएको नेताहरुको बैठक पूर्व महामन्त्री सिटौलाले भने बहिष्कार गरेका छन् ।

सभापति देउवाले आफ्नै निवासमा पार्टी पादाधिकारी र पूर्व पदाधिकारीहरुको वैठक बोलाएपनि सिटौला जान नमानेका हुन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय समिति पछिको शक्तिशाली निकाय कार्यसम्पादन समिति गठनमा आफ्ना मानिसहरु राख्न कांग्रेसमा नेताहरुबीच गूटैपिच्छेको स्वार्थ देखिन्छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिसँगै गठन हुन बाँकी रहेका विभागका विषयमा पनि छलफल हुने जानकारी दिएका छन् ।

कार्यसम्पादन समिति बनाउन सभापति देउवा र नेता पौडेलबीच भागबण्डा मिले पनि सिटौला भने आफूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्ट देखिएका हुन् ।

नेताहरु कुरा नमिलेकै कारण शनिबार बोलाइएको केन्द्रीय समिति बैठक नै हुन सकेको थिएन ।

सिटौलाले २९ सदस्यीय कार्यसम्पादन समितिमा आफूले दुई सदस्य पाउनुपर्ने अडान राखेका छन् भने देउवा र पौडेल सिटौलालाई मात्रै राख्न सहमत भएका छन् ।