Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित, भागबन्डाकै किचलो


0
Shares

काठमाडौं, चैत २३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

शनिबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

शीर्ष नेताहरुबीच कार्यसम्पादन समितिमा भागबन्डा नमिलेपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेका हुन् ।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताइएपनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका छन् ।

दुवै पक्षले आ–आफ्ना तर्फबाट सदस्यको नाम पनि टुंग्याउन सकेका छैनन् ।

सभापति देउवा क्षेत्रीय भेलाको उद्घाटन गर्न पोखरा पुगेका छन् ।

बैठक स्थगित भएपछि सन्चारकर्मीहरुसित कुरा गर्दै सभापति देउवापक्षीय केन्द्रीय सदस्य महेन्द्र यादवले कार्यसम्पादन समिति गठनमा शीर्ष नेताहरुबीच अझै कुरा मिल्न नसकेको बताए ।

सभापति देउवाले सहमतिमै समिति गठनका लागि प्रयास गरिरहेको उनको भनाइ छ ।

कांग्रेसको नयाँ विधानमा २८ ओटा विभाग गठन गर्ने व्यवस्था गरिएको छ । तर, सभापति देउवाले ती विभाग गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ ।

विभाग गठनका लागि देउवामाथि दबाब परेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यसअघि नै गठन गरिसकेको छ ।