Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


दशैंका लत्ताकपडा चीनबाट सोझै हवाइजहाजमा


0
Shares

काठमाडौं, असोज १६ । चीनबाट सामान ल्याउन प्रयोग हुने तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालन हुन नसक्दा नेपाली व्यापारीले हवाईजहाजबाट सामान ल्याउन बाध्य भएका छन् ।

राजधानी तथा अन्य क्षेत्रमा चिनियाँ सामान बिक्री गर्ने व्यापारीले अन्तर्राष्ट्रिय उडान भर्ने जहाज कम्पनीमार्फत सामान आयात गर्न थालेका हुन् ।

गत वर्षको भूकम्पपछि तातोपानी नाका बन्द भएको थियो भने विभिन्न खाले चिनियाँ अवरोधले रसुवागढी नाकामा समस्या छ । ‘तातोपानी बन्द भएपछि एक पटक रसुवागढीबाट सामान ल्याउँदा धेरै समस्या भयो,’ न्युरोडको आरबी कम्प्लेक्समा तयारी पोसाकको पसल चलाउने लोप्साङ गुरुङले भने, ‘त्यसपछि ‘एयर लिफ्ट’ गरेर सामान ल्याइरहेको छु ।’ उनले दसैं–तिहारलाई लक्षित गर्दै केही साताअघि मात्र ग्वान्जाउबाट थाई एयरमा तयारी पोसाक ल्याएको बताए ।

‘ग्वान्जाउबाट बैंकक हँदै आउने जहाजमा सामान ल्याएँ,’ उनले भने, ‘बैंककबाट पनि सामान थपेको थिएँ ।’ उनका अनुसार अहिले धेरै नेपालीले चीनबाट सीधै काठमाडौं उडान भर्ने कम्पनीमार्फत सामान ल्याउने गरेका छन् ।

तयारी पोसाक, चस्मा, सौन्दर्य सामग्री, झोला, फुटवेयर, मोबाइल, तयारी गहना, सजावटका सामानलगायत वस्तु अहिले जहाजबाटै आउन थालेका छन् । तयारी पोसाक र सौन्दर्य सामग्री भने थाइल्यान्डबाट समेत ‘एयर लिफ्ट’ गरेर ल्याइने गरेको छ ।

‘भूकम्पपछि धेरैले जहाजबाट सामान ल्याउन थालेका छन्,’ नेपाल चेम्बर अफ कमर्सका सचिव एवं आरबी कम्प्लेक्सकै व्यापारी पर्शुराम बस्नेतले भने, ‘उत्तरी नाकाको अवरोधले सीमित सामान ल्याउने व्यापारीको रोजाइ जहाज भएको हो ।’

चीनबाट आयात हुने लत्ताकपडालगायत सामानको आयात उत्तरी नाकाबाट हुँदै आए पनि गह्रुँगा वस्तु एवं औद्योगिक उपकरणको आयात भने समुद्री मार्ग हुँदै कोलकाताबाट आउने गरेको छ ।
-विष्णु पोखरेल, कान्तिपुर दैनिकबाट