
काठमाडौं, असोज १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसा रोक्न राज्यले नै आवश्यक कदम चाल्नुपर्ने बताएकी छन् ।
सर्वोच्च अदालतले आइतबार राजधानीमा गरेको ‘महिला विरुद्धको हिंसा र न्यायामा पहुँच’ विषयक कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला हिंसा प्रकृतिविरुद्धको हिंसा भएको बताइन् ।
कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयको फैसला कार्यान्वयन नहुनु नै अहिलेको प्रमुख समस्या हो भन्दै न्यायपालिका सधंै महिला तथा लैंगिक समानताको पक्षमा रहेको बताइन् ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले महिला संगठित रुपमा अघि बढ्न सकेमात्र महिला विभेद र हिंसा अन्त्य हुनसक्ने बताए ।
त्यसैगरी सभामुख ओनसरी घर्ती मगरले महिला समानताका लागि संविधान संशोधनमार्फत अगाडि बढ्न सकिने बताइन् ।
महिला हिंसाविरुद्ध सक्रिय संस्था शक्ति समूहकी संस्थापक चरिमाया तामाङ र केही वर्ष अघि राजधानीमै एसिड आक्रमणमा परेका युवतीद्वय सीमा बस्नेत र संगीता तामाङले महिलाको हक–हित र न्यायका लागि कानुनी व्यवस्थालाई नै मजबुत बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा न्यायाधीश सपना मल्ल प्रधानले न्यायमा पहुँचका चुनौतिहरु सम्बन्धि कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्