
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, चैत २२ । कपिलवस्तुको वाणगंगा नगरपालिका–४, झुंगामा भएको अनिता पौडेलको हत्यामा आफ्नै श्रीमान् र भिनाजुको संलग्नता रहेको खुलेको छ ।
गएको फागुन ११ गते मध्यराति घरमै अनिताको हत्या भएको थियो । धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो ।
हत्यामा उनका श्रीमान् बाबुराम पौडेल, भिनाजु श्रीहरि गौतमसहित गुनाखर अधिकारीको संलग्नता रहेको कपिलवस्तु प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत् जनाएको छ ।
प्रहरीकाअनुसार पारिवारिक विवाद र सम्पत्तिका कारण अनिताको हत्या गरिएको हो ।
श्रीहरिसित अनिताका ससुराले घर बनाउन १४ लाख रुपैयाँ ऋण सापटी लिएको र अनिताका श्रीमान्–श्रीमतीबीच विगत पाँच वर्षदेखि अंश मुद्दा चलिरहेकाले पनि पारिवारिक विवाद र सम्पत्तिका कारण नै हत्या भएको देखिएको कपिलवस्तुका प्रहरी प्रमुख अच्युतम पुडासैनीले बताए ।
हत्यामा संलग्न अधिकारी रुपन्देहीको देवदह नगरपालिका–३ चरंगे निवासी रहेको प्रहरीले जनाएको छ ।
उनी रुपन्देही कारागार र रामेछाप कारागारमा करिब चार वर्ष कैद भुक्तान गरी घर फर्केको व्यक्ति भएको जनाइएको छ ।
हत्याका आरोपी तीनैजनालाई प्रहरीले चैत २१ गते नियन्त्रणमा लिएको थियो ।
मृतक अनिताका ८ वर्षीय छोरा र १० वर्षीय छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्