लमजुङ, असोज १७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कैलाली घटनाका दोषीलाई उन्मुक्ति दिए मुलुक द्वन्द्वमा फस्ने बताएका छन् ।
कानुनभन्दा माथि कोही नरहेको भन्दै उनले कैलाली घटनाका दोषीहरूलाई कुनैपनि हालतमा माफी दिन नमिल्ने प्रस्ट पारे ।
जिल्ला भ्रमणकाक्रममा लमजुङ पुगेका कोइरालाले ‘केन्द्रमा गुटको कांग्रेसमात्र भेटिन थालेकोले आफू सच्चा र वास्तविक कांग्रेस खोज्न गाउँका कार्यकर्तासामु आएको बताए ।
१३औं महाधिवेशनपछि पार्टी भागबन्डा र गुटबन्दीमा चलेको बताउँदै उनले गुटबन्दी र भागबन्डाको राजनीतिले आमकार्यकर्ताको शिर झुकेको जिकिर गरे ।
गाउँ र दुरदराजमा बस्ने कार्यकर्ताको जगमा कांग्रेस उभिएको भन्दै डा. कोइरालाले गाउँका कार्यकर्ताहरूको योगदानको कदर र मूल्यांकन नभएसम्म पार्टी बलियो नहुने बताए ।
पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको दाबी गर्दै डा. कोइरालाले ‘सरकारमा कांग्रेस छ कि छैन भन्ने नै थाहा नभएको’समेत बताए ।
कांग्रेस लमजुङ क्षेत्र नम्बर–२ ले सोमबार बेसीसहरमा आयोजना गरेको ‘गाउँ–नगर जागरण अभियान’को शुभारम्भ गर्दै डा. कोइरालाले ‘स्थानीय निकाय पुनर्संरचना आयोगले दलीय खोल ओढेर ल्याएको प्रतिवेदनलाई कुनैपनि अवस्थामा मान्न नसकिने’ बताए ।





प्रतिक्रिया दिनुहोस्