Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नेपाल–भारत प्रबुद्ध समूहको दोस्रो बैठक आजदेखि नयाँदिल्लीमा


0
Shares

                                                      फाइल फोटो

काठमाडौं, असोज १८ । नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)को दोस्रो बैठक मंगलबार (आज)देखि भारतको नयाँदिल्लीमा सुरु हुँदैछ ।

बैठकमा नेपालले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई समयानुकूल संशोधन एवं पुनरावलोकन गर्ने विषयलाई पहिलो प्राथमिकता बनाउने भएको छ ।

यो सन्धिलगायत सबै दुईपक्षीय सन्धि एवं सम्झौता पुनरावलोकनका लागि बनेको समूहको दोस्रो बैठक दिल्लीमा बस्न लागेको हो । यसअघि, प्रबुद्ध समूहको पहिलो बैठक काठमाडौंमा बसेको थियो ।

पहिलो बैठकमा राजनीतिक विषय, दुई सरकारबीचको सम्बन्ध, आर्थिक–व्यापार, सांस्कृति तथा कनेक्टिभिटी र पारवहनको विषयमा सदस्यबीच काम बाँडफाँड गरेर अघि बढ्ने सहमति भएको थियो ।

सोही कामको बाडफाँडअनुसार सदस्यहरुले मंगलबार र बुधबार केही कार्यपत्र प्रस्तुत् गर्ने र छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुन नेपाली टोली सोमबारै नयाँदिल्ली पुगिसकेको छ । पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाको संयोजकत्वमा रहेको नेपाली प्रबुद्ध टोलीमा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् ।

भारतको तर्फबाट सांसद भगतसिंह कोसियारी, पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बीसी उप्रेती र महेन्द्र पी लामा छन् ।