काठमाडौं, चैत २२ । एसइई प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक गर्ने कार्यमा दुई प्रहरीजवान, एक शिक्षकसहित ६ जनाको संलग्नता देखिएको छ ।
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पक्राउ परेका ६ जनालाई नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा सार्वजनिक गरेको छ ।
सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत् प्रहरीजवानद्वय सप्तरीको राजविराज–१० का ब्रह्मदेव सुनरैत र कन्चनरुप–६ का दीपेन्द्रकुमार मण्डलसँगै राजविराज–१० का विष्णुदेव यादव, राजविराज–१६ का मनोज यादव, हनुमाननगर कंकालिनी–१ का राजेश यादव र उमेश यादवलाई सार्वजनिक गरिएको हो ।
पक्राउ गरिएका प्रहरीजवानद्वयमध्ये दीपेन्द्र एसइईका परीक्षार्थीसमेत हुन् । विष्णुदेव अर्का प्रहरीजवान सुनरैतका दाजु हुन् । मनोज यादव शिक्षक हुन् । राजेश र उमेश उच्च शिक्षा अध्ययनरत् विद्यार्थी हुन् ।
गत चैत १४ गते हुने भनिएको अनिवार्य विज्ञान विषयको प्रश्नपत्र त्यही दिन बिहान ७ बजे तथा भोलिपल्टका लागि तोकिएको अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र एक दिनअगावै सार्वजनिक भएका थिए ।
परीक्षा बोर्डले विज्ञान विषयको परीक्षा रद्द गरेको थियो भने सामाजिकलगायत अन्य विषयको परीक्षा स्थगन गरेको थियो ।
परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न परीक्षा बोर्ड र प्रदेश नम्बर–२ को सरकारले छुट्टाछुट्टै समिति बनाएका थिए ।
परीक्षा बोर्डले नै गृह मन्त्रालयमार्फत् आग्रह गरेपछि सीआइबीले छानबिन सुरु गरेको थियो ।
सीआइबीले यसमा प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली तथा जिल्ला प्रहरी कार्यालय सप्तरीको छानबिन टोलीसित सहकार्य गरेको थियो ।
कसरी बाहिरियो प्रश्नपत्र ?
सीआइबी प्रमुख डीआइजी नीरजबहादुर शाहीकाअनुसार प्रहरी कार्यालयबाट प्रश्नपत्र चोर्ने कार्यमा प्रहरीजवानद्वय सुनरैत र मण्डल प्रत्यक्ष संलग्न थिए ।
‘प्रारम्भमा प्रहरीजवान दीपेन्द्रकुमार मण्डललाई परीक्षा पास गराउनमात्र प्रश्न चोरिएको देखिएपनि पछि बिक्री गर्ने उद्देश्य राखेको पाइयो’–डीआइजी शाहीले बताए ।
कल्याणपुर इलाका प्रहरी कार्यालयमा जनता मावि बनिनिया र रादु माविको प्रश्नपत्र राखिएको थियो ।
प्रहरीजवान मण्डल बरहथवा मावि परीक्षा केन्द्रका परीक्षार्थी थिए । दुईटा परीक्षा केन्द्रको प्रश्नपत्र आफू कार्यरत् प्रहरी कार्यालयमै राखिएपछि परीक्षामा सामेल प्रहरीजवान मण्डलले प्रश्नपत्र चोरीको योजना बनाएका थिए ।
उनले योजना सुनाएपछि साथ दिन अर्का प्रहरीजवान सुनरैत तयार भए ।
प्रहरीजवान सुनरैत इलाका प्रहरी कार्यालय कल्याणपुरमा क्वाटर मास्टर (स्टोर किपर)को सहायक थिए । प्रश्नपत्र क्वाटर मास्टरकै रेखदेखमा थिए ।
क्वाटर मास्टर प्रहरी हवल्दारलगायत सबै प्रहरी रातिको खाना खान गएका बेला सुनरैत र मण्डलले प्रश्नपत्र निकालेका थिए ।
‘एकजनाले बाहिर कोही आउँदै छ, छैन भनेर हेर्न ड्युटी बसेको र अर्कोले प्रश्नपत्र निकालेको पाइयो’–डीआइजी शाहीले भने–‘क्वाटर मास्टर हवल्दारको ब्यागको चेन उप्काएर साँचो निकाली प्रश्नपत्र रहेको कोठा खोलेको देखिन्छ । कोठा खोलेर प्रश्नपत्र निकाली फोटो खिचेर फेरि प्रश्नपत्र पोकामै राखेको देखिएको छ ।’
उनीहरुले एकै दिन विज्ञान र सामाजिक विषयको प्रश्नपत्र निकालेको अनुसन्धानबाट खुलेको छ । दुवै प्रहरीले आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।
प्रहरीजवान सुनरैतले इमोमार्फत् सप्तरीका रहेका आफ्ना दाजु विष्णुदेवलाई प्रश्नपत्र पठाएका थिए । विष्णुदेवले मनोजलाई प्रश्नपत्र बेचेका थिए ।
शिक्षक मनोजले पनि पैसा लिएर राजेशलाई र राजेशले उमेशलाई पैसा लिँदै सामाजिक सञ्जालमार्फत् प्रश्नपत्र दिएका थिए ।
प्रश्नपत्र उमेशकहाँ पुगेपछि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको सीआइबीको ठहर छ ।
‘सुरुआती चरणमा एक हजारदेखि १५ सय रुपैयाँसम्ममा प्रश्नपत्र बिक्री भएको खुलेको छ’–डीआइजी शाहीले भने–‘विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराउँदा रकमको खेल भयो र पछि सामाजिक सञ्जालमै छ्यापछ्याप्ती भयो ।’
प्रश्नपत्र सार्वजनिक हुनुमा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी प्रहरी नायब निरीक्षक तुलसी भट्टराईको संलग्नता नदेखिएको डीआइजी शाहीले बताए ।
‘तर प्रश्नपत्र सुरक्षाको जिम्मेवारी पूरागर्न नसकेकाले प्रदेश प्रहरी कार्यालयमार्फत् उनीमाथि कारबाही हुन्छ’–डीआइजी शाहीले भने ।
परीक्षाअगावै प्रश्नपत्र चोरी गर्ने प्रहरीजवान सुनरैतले अर्काको नाममा तीन दिनसम्म एसइई परीक्षा दिएको सीआइबीको अनुसन्धानमा खुलेको छ ।
एसइईका परीक्षार्थी अर्का प्रहरीजवान मण्डलको परीक्षा सुनरैतले दिएका हुन् ।
सीआइबी प्रमुख डीआइजी शाहीकाअनुसार प्रवेशपत्रमा मण्डलको फोटो निकालेर आफ्नो फोटो हाली सुनरैतले परीक्षा दिएका थिए ।
उनले प्रधानाध्यापकको छाप चोरी गरी आफ्नो फोटोमा लगाएको खुलेको शाहीले बताए ।
पक्राउ गरिएकाहरुको मोबाइलको नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण भइरहेको जानकारी दिँदै डीआइजी शाहीले परीक्षणपछि थप कुरा खुल्ने बताए ।
पक्राउ गरिएका प्रहरीजवानद्वयमाथि शिक्षा ऐन र विशेष प्रहरी ऐन दुवैअनुसार कारबाही हुने तथा अन्य चारजनाको हकमा परीक्षा ऐनअनुसार कारबाही चलाइने उनले जानकारी दिए । –कान्तिपुर दैनिकबाट साभार ।










प्रतिक्रिया दिनुहोस्