Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई भनेः प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज विहान भेटघाट गरी आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । 

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताए ।

‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ ।

कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुंदाको कार्यन्वयन तदारुकताका साथ गरिने बताएका छन् ।

ओलीले आँधी पिडित बारा र पर्साकाका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । 

मुख्य मन्त्रीहरुले प्रदेशमा देखिएका समस्या, कानुनी जटिलता र बजेट बिनियोजनमा ढिलाई, न्युन बजेटको बारेमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

त्यसेगरी केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समयन्वयको अभाव भएको सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रदेश नम्बर–१ का मुख्य मन्त्री शेरधन राईले राष्ट्रिय समन्वय परिषद्को बैंठकको बिषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

प्रदेश नम्बर–२ का मुख्य मन्त्री लालबाबु राउतले बारा र पर्सामा आएको हुरी बतासबाट प्रभावितको राहतलाई तिव्रता दिने र मृतकका आफन्तहरुलाई दिने सहयोगको बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो ।

प्रदेश सरकारले न्यायोचित बजेट पाउन नसकेको र सरकारका कामले तीव्रता नपाएको सम्बन्धमा पनि प्रदेश प्रमुखहरुले सामुहिक रुपमा प्रधानमन्त्रीसंग गुुनासो पोखेका थिए ।

छलफलमा प्रदेश नम्वर–१ का मुख्य मन्त्री शेरधन राई, प्रदेश नम्बर–२ का लालबावु राउत, प्रदेश नम्बर–३ का डोरमणी पौडेल, गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ , प्रदेश नम्बर–५ का शंकर पोखरेल, कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र सुुदुर पश्चिमका त्रिलोचन भट्ट सहभागि थिए ।