Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


एनआरएनको लगानी भित्र्याउन कार्यविधि बनाउन धितोपत्र बोर्डद्वारा समिति गठन


0
Shares

काठमाडौं, कात्तिक ३ । धितोपत्र बोर्डले धितोपत्र दोस्रो बजारमा गैरआवासीय नेपालीलाई सहभागी गराउन अध्ययन गरी कार्यविधि बनाउन समिति गरठन गरेको छ ।

गत माघ २०७२ देखि धितोपत्रको दोस्रो बजार कारोबार अभौतिकिकरण भइ बजार आधुनिकीकरणको युगमा प्रवेश गरी नेपालको धितोपत्र बजारको क्षेत्रसमेत विस्तार हुँदै गइरहेको छ ।

तथापि हालसम्म धितोपत्र बजारमा गैरआवासीय नेपालीले प्रत्यक्षरुपमा लगानी गर्ने व्यवस्था रहेको देखिँदैन ।

धितोपत्रको दोस्रो बजारमा एनआरएनएले सहजरुपमा प्रवेशका लागि पटक–पटक माग गर्दै आइरहेको छ ।

विगतकोे बजेटमा धितोपत्र बजारमा एनआरएनको लगानी आकर्षित गराउने नीति लिइएको थियो ।

यसै परिप्रेक्ष्यमा यससम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा बोर्ड, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने गरी एक समिति गठन गरिएको बोर्डले जनाएको छ ।

समितिमा एनआरएनको प्रतिनिधिसमेत सहभागिता रहने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

उक्त समितिले एनआरएनको सहभागितावाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभावसमेतको अध्ययनगरी दुई महिनाभित्रमा कार्यविधि तयार गर्ने जनाइएको छ ।

यसको कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभावपर्ने बोर्डको अपेक्षा रहेको छ ।