Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान


0
Shares

काठमाडौं, चैत १९ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुखमा सिफारिस गरिएका दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले थपलिया र ओझाविरुद्ध कुनै उजुरी भए यही चैत २९ गतेसम्म दिन आह्वान गरेको हो ।

संवैधानिक परिषद्ले चैत ११ गते निर्वाचन आयोगको प्रमुखमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया र समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई सिफारिस गरेको थियो ।

बैठकमा समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी दलका नेताको उपस्थितिबिना परिषद्ले निर्णय गरेकोतर्फ संकेत गर्दै सरकार संविधान र संवैधानिक निकायलाई कमजोर बनाउने मनसायले अघि बढिरहेको आरोप लगाए ।

संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधनमार्फत् संवैधानिक परिषद्को संरचना र संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया परिवर्तन गर्नुपर्ने बताए ।