Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


उद्योग वाणिज्य महासंघ संघीय संरचनामा, अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष


0
Shares

काठमाडौं, कात्तिक ४ । नेपाल उद्योग वाणिज्य महासंघले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ ।

महासंघको विहीबार राजधानीमा सम्पन्न विशेष साधारणसभाले महासंघको विद्यमान विधान २०४९ को छैटौं संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।

हालको वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी साधारणसभापछि स्वतः अध्यक्ष हुन बाटो खुलेको छ ।

विशेष साधारणसभामा सहभागी ९० प्रतिशत प्रतिनिधिले विधान संशोधनको पक्ष लिएका थिए ।

विशेष साधारणसभाले विधान संशोधन गरी नयाँ व्यवस्था गरेको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष पशुपति मुरारकाले विधान संशोधनबारे जानकारी गराए ।

उनले सात प्रदेशमा प्रादेशिक उद्योग वाणिज्य संघको व्यवस्था गरिएको, वरिष्ठ उपाध्यक्ष खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था भएको बताए ।

अध्यक्ष मुरारकाले ६ जना पूर्वअध्यक्षहरुले विशेष साधारणसभा बहिस्कार गर्नु दुखद् भएको बताए ।

महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले ६ जना पूर्वअध्यक्षहरुको विशेष साधारणसभाबारे जानकारी नभएको भन्ने आरोपको खन्डन गरे ।

विशेष साधारणसभाले गरेको निर्णय आफूहरुले मान्ने जानकारी पूर्वअध्यक्षहरुले आफूलाई भनेको पनि उनले बताए ।

पूर्वअध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीले विशेष साधारणभा बहिस्कार गरेका थिए ।