फाइल फोटो
काठमाडौं, कात्तिक ५ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ ।
काठमाडौं महानगरपालिकाले तीन भागमा विभाजन गरी एक हजार ८५ खम्बामा आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत् सौर्यबत्ती जडान गर्न लागेको हो ।
उक्त कार्यका लागि कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र बिके ट्रेडर्स सप्लायर्सका रञ्जनराज श्रीवास्तवले हस्ताक्षर गरिसकेका छन् ।
सम्झौतानुसार कम्पनीले एक वर्षभित्र महानगरका विभिन्न क्षेत्रमा सौर्यबत्ती जडान गरिसक्नुपर्नेछ ।
केही समयअघि सौर्यबत्ती जडानका लागि कामपाले आवेदन मागेको र जडानका लागि १५ कम्पनीले आवेदन दिएकामा बिके ट्रेडर्स छानिएको हो ।
काठमाडौंका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ सो कार्यक्रम अगाडि बढाइएको तामाङले जानकारी दिए । उक्त सुविधा जनताले बिनालगानी पाउनेछन् ।
एउटा खम्बाका लागि रु एक लाख ५० हजार लाग्ने महानगरका खरिद एकाइ प्रमुख दीपक अधिकारीले जानकारी दिए ।
सौर्यबत्ती जडानका लागि आवश्यक पूर्वाधार तथा लागत सम्बन्धित कम्पनीले नै बेहोर्नेछ । निर्माणका लागि जिम्मा पाएको कम्पनीले खम्बामा विज्ञापन राखेर आम्दानी गर्नेछ ।
खम्बामा विज्ञापन राखेपछि कम्पनीले कामपालाई वार्षिकरुपमा विज्ञापन कर बुझाउनुपर्छ ।
प्रत्येक वर्ष पाँच प्रतिशतकादरले बढ्ने सहमतिका साथ कम्पनीले एउटा खम्बाको वार्षिक ८हजार ७०० रोयल्टी बुझाउनुपर्नेछ ।
स्वीकृत प्रस्तावले एक वर्षको निर्माण अवधिबाहेक १० वर्षपछि सो सौर्यबत्ती, ब्याट्री तथा विज्ञापन स्वतः कामपाको हुनेछ ।
सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खन्ड पहिचान गरेको छ । सोअनुसार कलंकी, त्रिपुरेश्वरदेखि माइतीघर, केशरमहलचोकदेखि ठमेल, क्षेत्रपाटी हुँदै सोह्रखुट्टे, बालाजुचोक हुँदै नयाँबसपार्कसम्म पहिलो खन्डमा ४०० बत्ती राखिनेछ ।
त्यस्तै, दोस्रो खन्डमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी तथा गौशालामा राखिनेछ ।
तेस्रो खन्डमा ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली र डिल्लीबजार पुतलीसडकमा जोडिने बताइएको छ । सो खन्डमा ३०० सौर्य बत्ती जडान गरिने प्रमुख तामाङले जानकारी दिए ।
त्यसैगरी, पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शंखमूलपुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानोबानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलचोकसम्म महानगरले पहिचान गरेको तेस्रो खन्डमा ३८५ खम्बा राखिने जानकारी कामपाले दिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्