Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिँदा सांसद त्रिपाठीले दिए दुई महिनाको पारिश्रमिक


0
Shares

काठमाडौं, चैत १९ । नेपाली समाजमा एउटा उक्ति छ– सहयोग गर्न धन होइन, मन चाहिन्छ ।

बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीले सयौं घर ध्वस्त भएको छ । २७ जनाको मृत्यु र चार सयजना भन्दा बढी घाइते हुनेगरी आएको हावाहुरीले कयौंलाई घरबारविहीन बनाएको छ । पीडित परिवारका लागि राहत तथा सहयोग जुटाउने काम भइरहेको छ ।

कयौंले स्वेच्छिक सहयोगको घोषणा गरिरहेका छन् । राजनीतिक दलहरु, व्यवसायी, पेशाकर्मी, नेता तथा सांसदहरुले समेत सहयोगको घोषणा गरेका छन् । सहयोग घोषणाका क्रममा पनि केहीको मन निकै कसिलो र केहीको निकै उदार देखिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् । संसदमा झण्डै दुई तिहाई हिस्सा ओगटेका सत्तारुढ दलका सांसदले एक दिनको पारिश्रमिक सहयोग गर्ने घोषणा गर्दा तत्कालिन नेकपा एमालेको चुनाव चिह्न ‘सुर्य’बाटै निर्वाचित भएका सांसद हृदयेश त्रिपाठीले भने दुई महिनाको पारिश्रमिक सहयोग स्वरुप उपलब्ध गराउने घोषणा गरेका छन् । मधेस र मधेसी जनताको हक अधिकारका लागि लामो समय संघर्ष गरेका त्रिपाठी चुनावको पूर्वसन्ध्यामा तत्कालिन एमालेसँग गठबन्धन गर्दै ‘सुर्य’ चुनाव चिह्न लिएर उम्मेदवार बनेका थिए ।