
काठमाडौं । गाउँमै बसेर संगीत सिर्जन र साधनमा क्रियाशिल गायक रगुन गुरुङले देस्रो एल्बम ‘आफ्नोपन’ बजारमा ल्याएका छन् ।
इलामको सुर्योदय नगरपालिका निवासी रगुनले ४ वटा गीत समेटिएको एल्बम ल्याएका हुन ।
हालैमात्र उक्त एल्बम निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन इलामको विस्तारित बैठकमा विमोचन गरियो ।
आधुनिक गीत संगीतलाई पृथक शैलीमा उतार्न सफल रहँदै आएका रगुनको ‘झुकाई आँखा प्रितिको भाखा’ बोलको शिर्ष गीतमा उनलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् ।
विपिन किरणको शब्दमा तयार भएको सो गीतमा नारायण सुवेदीले संगीत भरेका छन् ।
एल्बममा ‘दोषि नजर तिम्रो हो कि’ बोलको गीत समावेश छ । भीम क्षेत्रीको शब्द र कृष्णभक्त राईले संगीत गरेको यो गीतमा रगुनको एकल स्वरमा सझिएको छ ।
‘छेउमा आए बोलाए न त तिमी फर्किन्छौ’ एल्बमको तेस्रो गीत हो । गीतमा कुमार विवाहितको शब्द र नारायण सुवेदी आभाषको संगीत दिएका छन् ।
एल्बममा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन’ बोलको गीत समावेश छ ।
भुवनराज ढुङ्गनाको शब्द र बृष प्रधानको संगीतमा रहेको यो गीत गुरुङ्गको पहिलो एल्बम प्रियतामा समेत समावेश थियो ।
प्रियतामा एल्बमको चर्चित गीत भएकाले नयाँ एल्बममा समेत समावेश गरेको गायक गुरुङ्गले बताए ।
सुर्योदय नगरपालिका–९ मा रहेको न्यु वल्र्ड अंग्रेजी वोडिङका संचालक समेत रहेका गुरुङ विद्यालय समयबाट व्यवस्थापन गर्दै संगित साधनामा लागेको बताउँछन ।
शिक्षणबाट कमाएको पैसा संगीतमा खर्च गरेर संगीत साधना गरिरहेको उनलाई एल्बम विक्रीबाटै खर्च उठाइएला भन्ने आशा छैन ।
‘एल्बम बेचेर खर्च उठ्दैन’–उनले भने–‘स्टेजमा गाउँदा त भाडा मात्रै चित्त बुझाउनु पर्छ ।’
०६२ सालमा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन, सम्झनाको तरेलीमा तिम्रो तस्बिर किन हौ किन’ बोलको गीत रेकर्ड गराएर औपचारिक रुपमा सांगीतिक यात्रा शुरु गरेका गुरुङ्गले संगितको औपचारिक शिक्षा नलिएपनि गायकीकै कारण संगीतप्रमीहरुका प्रिय बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्