-जयराम बास्तोला, ईमेज
भक्तपुर, कात्तिक ८ । अहिले अधिकांश किसान धान भित्र्याउन व्यस्त छन् । धान रोप्ने समयमै पर्याप्त वर्षा भएपछि यस वर्ष धानको उत्पादनमा समेत वृद्धि हुने देखिएको छ ।
भक्तपुरका किसान पनि बिहानदेखि बेलुकीसम्मै खेतमा धान काट्न र भित्र्याउन व्यस्त छन् । नेपालीहरुको महान पर्व बडादशैं सकिएलगत्तै किसानलाई ध्यान भित्र्याउन भ्याइनभ्याई छ ।
नजिकिँदो तिहार अघि नै धान भित्र्याउने चटारोले किसानहरु बिहानदेखि बेलुका सम्मै खेतमा काम गरिरहेका छन् । समयमै मनसुन भएकाले विगतका वर्षमा भन्दा यो वर्ष धानको उत्पादन राम्रो भएको किसान बताउँछन् ।
भक्तपुरका किसानले गत वर्ष चिनियाँ हाइब्रिड जातको धान लगाएर ठूलो नोक्सानी बेहोरेका थिए ।
तर यस वर्ष भने राम्रो उब्जानी भएको उनीहरु बताउँछन् । यहाँका किसानले विभिन्न हाईब्रिड, झरुवा टाइचिन, खुमल ४, खुमल ११ लगायतका धान लगाउँदै आएका छन् ।
जिल्ला कृषि कार्यालय भक्तपुरले जिल्लाको ४ हजार ३ सय ४८ हेक्टरमा धान खेती गरिँदै आएको जनाएको छ ।
गत वर्ष करिब २६ हजार ९ सय ५८ मेट्रिक टन उत्पादन भएको भक्तपुरमा यस वर्ष उत्पादनमा वृद्धि हुने कृषि कार्यालयका प्रमुख पूर्ण ढुंगानाले जानकारी दिए ।
भूकम्पकका कारण घरवारविहीन भएका कृषक भने धान पाकिसकेपछि पनि राख्ने ठाउँ नहुँदा समस्यामा परेका छन् ।
खेतमा धान पाकेर भित्र्याउन बेला भइसक्दासमेत कतिपय किसानले मजदुर नपाएको गुनासो गरेका छन् । आवश्यक मजदुरको अभावकै कारण धान भित्र्याउन समस्या भएको छ ।





प्रतिक्रिया दिनुहोस्