
काठमाडौं, कात्तिक १० । तिहार र बिहेको सिजन नजिकिएसँगै बजारमा सुनको अभाव हुन थालेको छ ।
चाडबाडकै अवसरमा सुन खरिद गर्ने उपभोक्ताको संख्या बढेकाले बजारमा अभाव देखिएको हो । सामान्य अवस्थामा सुनको दैनिक माग १५ किलो हो । तर हाल माग २५ किलो नाघेको व्यवसायीहरु बताउँछन् ।
माग बढेपछि व्यवसायीहरुले तोलामा थप ५ सय रुपैयाँ बढी लिएर बिक्री गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
‘तिहार सुरु हुन तीन÷चार दिन मात्रै बाँकी रहेकाले गहना खरिद गर्न आउने ग्राहकको संख्या निकै बढेको छ । जसले गर्दा दैनिक माग २५ किलो नाघेको छ,’ महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘उपभोक्ताको माग अनुसार उपलब्ध गराउन नसक्दा कालोबजारी बढ्दै गयो । केही व्यवसायीले तोलामै ५ सय रुपैयाँ बढीमा बिक्री गरेका छन् ।’
महासंघका अनुसार बजार मागअनुसार राष्ट्र बैंकले कोटा बृद्धि नगरेकाले अभाव भएको छ । राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्